राक्सिराङमा सीता र त्रिजटाको मूर्ति प्राणप्रतिष्ठा
हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–३ पलाँसेमा रहेको सीता अशोक बाटिकामा भगवान सीता र त्रिजटाको मूर्ति प्राणप्रतिष्ठा गरिएको छ । बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा गुरु पूर्णिमाको अवसरमा धार्मिक समारोहका बीच सीता र त्रिजटाको मूर्ति प्राणप्रतिष्ठा गरिएको हो ।
मूर्ति प्राणप्रतिष्ठामा प्रदेशप्रमुख शर्माले धार्मिक पर्यटक आकर्षणको दृष्टिले अन्तयन्तै राम्रो स्थान भएकाले यसको विकास गर्दै लैजानुपर्नेमा जोड दिए । यहाँका सबैले गर्व गर्ने विषय भएको छ, उनले भने–‘एउटा पर्यटकीय स्थलको सुरुवात भएको छ, यसलाई अगाडि बढाउनु सबैको दायित्व हो ।’ धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न आवश्यक राज्यस्तरको केन्द्र, प्रदेश र स्थानीयतह सबैको सहयोगको जरुरी रहेको बताए ।
कार्यक्रममा जानकी मन्दिर जनकपुरबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै दूधमती नदीबाट ल्याइएको जल शेचन गंगासागार आरती गर्ने पण्डित दिनेश भण्डारीले आरती गरेका थिए । सीता अशोक बाटिकाको संरक्षण, सम्बद्र्धन गरी धार्मिक पर्यटनलाई टेवा दिनका निम्ति सीता अशोक बाटिकामा भगवान सीता र अपहरणकालमा राक्षस बर्गबाट उनलाई रेखदेख गर्न राखिएकी त्रिजटाको मूर्ति स्थापना गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।
वन जोगाउनु भनेको केही रुख विरुवा र जनावर जोगाउनु मात्र नभई इंतिहास, सभ्यता र संस्कृतिका साथसाथै समृद्धि जोगाउनु हो भन्ने तथ्यलाई मनन गर्दै उक्त स्थानलाई प्रकृति र संस्कृतिको संगम स्थलको एक अंशका रुपमा विकास गरिने प्रतिवद्धता समेत उनले जनाए । करिव एक सय वर्ष पुरानो इतिहास रहेको अशोक बाटिकालाई प्राकृतिक र धार्मिक दुबै तवरबाट संरक्षणको निम्ति राप्ती डिभिजन वन र भ¥याङकालिका सामुदायिक वनको सहकार्यमा गतवर्ष प्रदेश सरकारको पर्यापर्यटन कार्यक्रम अन्तर्गत रु ५ लाख बजेटमा वरपर सरसफाई, पर्खाल निर्माण, धारामाथिको असोकमा चौतारा निर्माण भएको थियो ।
यसवर्ष संघीय सशर्ततर्फ रु १० लाखको बजेटमा अपुरो पर्खाल निर्माण, सरसफाई, २ वटा मूर्ती निर्माण, स्थापना र ५ वटा गौमुख धाराको निर्माण गरिएको उनले बताए । डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरको आयोजनामा भएको कार्यक्रम राक्सिराङ गाउँपालिकाले समन्वय तथा भ¥याङकालिका सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा भएको थियो ।
कार्यालयले असोकलाई संरक्षण गर्दै हजारौँ अशोकको रोपण गरेर अशोकको अध्ययन र बीउ संकलन केन्द्रको रुपमा स्थापति गर्ने अभियानमा लागिपरेको उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन अधिकृत शिव सापकोटा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गतौंला, ‘क्लिन जनकपुर, ग्रिन जनकपुर,’ गंगासागर सफाइ अभियन्ता सुरेश शर्मा, मिथिला वाईल्डलाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, दूधमती नदी संरक्षणका अभियन्ता सुदिप मण्डललगायत उपस्थित थिए ।







