मकवानपुर पहिरोको उच्चजोखिममा, हेटौंडा बाढी प्रकोपयुक्त क्षेत्र

प्रतिक्षा न्यौपाने
२०८० असार २६, मंगलवार १२:०६

हेटौंडा-मकवानपुर बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला हो । जिल्लाका १० स्थानीय तह सबै पहिरो र बाढीको जोखिममा छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनका कारण हुने पहिरोको जोखिममा ३२ जिल्ला र उच्चजोखिममा २२ जिल्ला रहेका छन् । जसमध्ये मकवानपुर पनि छ । बाढीको उच्चजोखिममा रहेका जिल्ला २३ वटा छन् । १० वर्षमा भएको क्षति, जनघनत्व, भौगोलिक अवस्थिति र भौतिक संरचनाका आधारमा जोखिम स्थिति मूल्यांकन गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, हेटौंडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगरको सहरी क्षेत्रलाई बाढीको दृष्टिबाट उच्चप्रकोपयुक्त क्षेत्र मानिएको प्राधिकरणले जानकारी दिएको छ ।

हेटौंडाको बीच भागबाट कर्रा खोला र एक छेउबट राप्ति बग्ने गरेको छ । हेटौंडाको ११, १२, १३, १४ १५, १६, १७, १८ र १९ नम्बर वडामा ठूला खहरे बग्ने गरेका छन् । जसकारण पनि हेटौंडा बाढीको उच्चजोखिममा परेको हो । कर्रा खोलाका कारण ५ नम्बर वडाको गर्दोइ र कर्रा डुबान हुने गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार घनाबस्ती भएको क्षेत्रमा एक घण्टासम्म १० मिलिमिटर वर्षा हुँदा पनि बाढी र धनजन क्षतिको जोखिम बढी हुने गर्दछ ।

बितेको १० वर्षमा मात्रै नेपालमा बाढीका १ हजार ५ सय १२ घटना भएका छन् । जसमा ७ सय ४१ जनाको ज्यान गयो भने ४ सय ६३ जना बेपत्ता भएका थिए । बाढीबाट १० हजार ९ सय २५ घर क्षतिग्रस्त भएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार नेपालमा बाढीको घटना ५० वर्षमा ६ गुणाले बढेको छ । पहिरो र भेलबाढी प्रायः उही ठाउँमा दोहोरिने गरेको अनुसन्धानबाट देखिएको प्राधिकरण बताउँछ । २०७९ सालको मनसुनजन्य विपद्बाट मकवानपुरसहित सुर्खेत, प्यूठान, खोटाङ, बाजुरा, दार्चुला, नवलपुर र अछाम जिल्ला बढी प्रभावित भएका थिए ।

मकवानपुरको राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी, बकैया र बागमती गाउँपालिका पहिरोको जोखिममा छन् । जसमध्ये राक्सिराङ र कैलाश गाउँपालिका पहिरोको उच्चजोखिममा छन् । हेटौंडा, मनहरी, बागमती गाउँपालिका बाढीको उच्चजोखिमयुक्त क्षेत्र हुन भने थाहा नगरपालिका, बकैया, भीमफेदी, इन्द्रसरोबर, मकवानपुरगढी, राक्सिराङ तथा कैलाश गाउँपालिका बाढी र पहिरो दुवैको जोखिम क्षेत्रको रुपमा रहेको छन् । पूर्वी क्षेत्रस्थित बागमतीको बागमती नदीसहित चौरा खोला र दर्जन बढी चुरेबाट झर्ने खहरेखोलाको कारण यहाँ वर्षेनि सयौं हेक्टर जमिन कटान हुनुको साथै मानवीय क्षति हुने गरेको छ ।

पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ तथा कैलाश गाउँपालिकामा रहेका मनहरी खोला, लोथर खोला तथा राप्ती खोलाले वर्षेनी ठुलो मात्रामा जमिन कटान गर्नुको साथै बस्तिमा खोला पस्ने समस्या रहेको छ । जिल्लाकै पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । मकवानपुरगढीको आमभञ्याङ, सुकौरा, बुढीचौर क्षेत्रमा बाढी तथा पहिरोको उच्चजोखिम रहँदै आएको छ भने शिवम् सिमेन्टको खानीको अव्यवस्थित उत्खनन्को कारण यि क्षेत्रमा पहिरोको पनि उच्चजोखिम रहेको छ । राक्सिराङ गाउँपालिकामा पनि ऋद्धिसिद्धि सिमेन्टको खानी क्षेत्र सञ्चालन पछि गाउँ नै विस्थापित भइसकेको छ ।

हरेक वर्ष बाढी, पहिरो, डुबान चट्याङलगायत प्राकृतिक जोखिम वहन गरिरहेको मकवानपुरमा २०७८ सालमा स्थानीय तहले २ हजार १ सय ६५ भन्दा धेरै घर प्राकृतिक प्रकोपको अतिजोखिममा रहेका जनाएका थिए । जसमध्ये करिब १ हजार ३ सय घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका थिए । तर, २०८० असारसम्म आइपुग्दा व्यवस्थित स्थानान्तरणको काम हुन सकेको छैन । दुर्गम राक्सिराङ गाउँपालिकाको महाभारत भीरमा हाल धाजा फाटिएको छ । वडा नम्वर–४ मा पर्ने भीर पनि चर्किँदै गएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिकाको ९ वटै वडा विपद्को जोखिममा भए पनि ९ नम्वर वडा सबैभन्दा बढीजोखिममा रहेका अध्यक्ष मल्लले बताए ।
वडा नम्बर ९ को खैराङमा २०७२ सालको भूकम्पले जमिन पुरै चर्किएको भन्दै पुनर्निर्माण प्राधिकरणले सोही बेलामा बस्नको लागि उपयुक्त नरहेको बताएको थियो ।गाउँपालिकाले जोखिमयुक्त बस्ती स्थानान्तरणको लागि पहल गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको मल्लको गुनासो छ । बकैया गाउँपालिकाको–६ वटा वडामा पहिरो जोखिम छ । फास्ट ट्रयाकको बाटो निर्माण भइरहेको गाउँपालिकामा बाटो निर्माण गर्दा सावधानी नअपनाएकाले ८० घर जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकोअनुसार ठूलो संख्यामा स्थानीयको ज्यान नै जोखिममा हुँदा पनि सम्बन्धित निकाय मौन छ ।

२०७२ सालको भूकम्प पछि मकवानपुरमा बाढी तथा पहिरोका घटना बढी हुन थालेका छन् । भूभाग कमजोर हुँदा बाढी पहिरोका घटना बढी हुन गएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाका अधिकांश भाग विपद्को जोखिममा रहेको जानकारी भएपनि विपद्बाट बच्ने तथा उद्दारका लागि पूर्वतयारी भने पर्याप्त नहुनुका साथै कमजोर छ । भारी वर्षा तथा भूकम्पका कारण पुराना र निष्क्रिय भएका पहिरो पुनः सक्रिय हुन सक्छन्, नयाँ पहिरोसमेत जान सक्छ । नेपालमा २०७२ को भूकम्पका कारण १४ जिल्लामा पहिरोका घटना बढेको पाइएको छ ।

यसैगरी, २०८० सालको मनसुन सुरु भएको एक महिनामै विपद्का घटनाबाट ३४ जनाले ज्यान गुमाएका छन् । ५४ घर पूर्ण र २० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन्, सयौं पशु मरेका छन् । विभिन्न राजमार्गका ९ वटा पुलसहित ६६ स्थानमा सडक क्षति हुँदा ४० करोडको नोक्सान भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले ताप्लेजुङ र पाँचथरमा ११÷११ गरेर २२ वटा झोलुंगे पुल बगाउँदा १२ करोड १० लाख ८८ हजार क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ ।

बाढीपहिरोका कारण निर्माणाधीन ठूला जलविद्युत् आयोजनामध्ये ३ सय २६ दशमलव ८६ मेगावाट क्षमताका १७ वटा आयोजनामा २ अर्ब ६२ करोड र सञ्चालनमा रहेका १ सय ३२ दशमलव ७४ मेगावाट क्षमताका १३ वटा आयोजनामा ५ अर्ब ९२ करोड बराबरको क्षति भएको प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले जनाएका छन् । यस्तै, ३१ वटा लघु जलविद्युत् आयोजनामा ४४ करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । खेतीयोग्य जमिन र बालीनालीमा भएको क्षतिको विवरण सरकारले निकालेको छैन ।

प्राधिकरणले भने २०७९ सालको मनसुनजन्य प्रकोप उद्धारबारे समीक्षा गर्दै विपद् व्यवस्थापन र तयारीलाई राज्यले अझै विशेष महत्व दिन नसकेको निष्कर्ष निकालेको छ । समीक्षा प्रतिवेदनमा उपकरण र साधनस्रोतले सुसज्जित बनाउन अत्यावश्यक पहल अझै भइनसकेको उल्लेख छ । यस्तै, विपद् प्रतिकार्य योजनामा क्षमता विकास गर्न राज्यले थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । कर्मचारीको सरुवा हुँदा विपद् व्यवस्थापनसम्बन्धी भएका कार्य बुझबुझारथ गर्ने परिपाटी नरहेकाले समस्या भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*