स्थायी बसोबास माग्दै वनकरिया
हेटौंडा- मकवानपुरमा मात्रै बसोबास गर्ने वनकरिया समुदायले आफ्नो स्थायी बसोबासको लागि सामूहिक जग्गा माग्दै प्रदेशको मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मकवानपुर जिल्ला मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रामा कबुलियती बनको जग्गामा बस्दै आएका उनीहरुले स्याथी बसोबासको लागि दशकदेखि जग्गाको माग गर्दै आएका छन् । उनीहरुले आइतवार बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा वनकरिया महिला विकास संघद्वारा जातिगत स्थायी बसोबासको ब्यबस्था मिलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । भूमि व्यवस्था मन्त्रालयसमेत हेर्ने गरी गाभिएको प्रदेशको कृषि मन्त्रालयका मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठलाइ उनीहरुले सामूहिक रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठले बनकरिया समुदायका लागि सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले आफूले संसदमा हरेक वर्ष चेपाङ, बनकरियाको समस्याको बारेमा बोल्ने बताए । उनले बनकरिया समुदायलाई सबैभन्दा पहिला खानाको व्यवस्था हुन आवश्यक रहेको भन्दै बास, रोजगारीको ब्यवस्थापन र शिक्षाको आबश्यकता रहेको बताए । मन्त्री श्रेष्ठले वनकरियाको समस्याको विषयमा प्रधानमन्त्री, सरकार सम्बन्धित मन्त्री र पार्टीभित्र र प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले के गर्न सकिन्छ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाले प्रदेश सरकाले बनकरिया समुदायलाई उकास्ने खालका कार्यक्रम गर्न मन्त्री श्रेष्ठलाई अनुरोध गरेका थिए । वनकरिया समुदायले एकदशकदेखि नै सामूहिक पूर्जाको माग गर्दा संघ र प्रदेशको मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै आएको वनकरिया समुदायकी अगुवा संतोषी वनकरियाले बताइन् । ‘हामीले कुनै पनि मन्त्रीलाई ज्ञापनपत्र बुझाउन बाँकी राखेका छैनौं तर, हाम्रो सुनुवाई भएकै छैन’ सन्तोषीले भनिन् । हाल बसेको कबुलियती वनको जग्गाको संझौताअनुसार त्यो स्थान छाड्नु पर्ने समय नजिकीदै छ । आफूहरुलाई पीडा हुँदै आएको उनले बताइन् ।
वनकरिया जाति मकवानपुरको मनहरी–४ मुसेधापमा मात्र बस्ने गदर्छन् । ट्वाङग्रा खहरेको किनारमा रहेको वस्तीमा करिब २ दशक अघि छाप्रो बनाएर बस्न थालेका हुन् । हाल बनकरिया समुदायको २२ घरधुरीमा ८९ जनाको संख्यामा रहेको छ । बिगतका दिनमा उनीहरुको सबैभन्दा बढी रुचाउँने खाना जंगलको रातो कमिला भुटेर बनाइएको अचार हो । वनकरिया समुदाय वनदेवता माथि विश्वास गर्छन् । वनमा कुरिलो र खरेटो खोजेर गाउँमा ल्याएर बेच्छन् । सरकारद्वारा २०५५ सालमा घोषित ६१ जातिमा वनकरिया पनि पर्छन् ।
गाउँको मान्छेले दिएको पुरानो कपडा लाउँने भात दशैमा मात्र खान पाउँने बसिरहेको ठाउँमा मान्छे मरेमा अर्को स्थानमा सर्ने खरेटोसँग आँटोपीठो साट्ने तेल कहिलेकाँकी मात्र खाने बाँसको ढुंग्रोमा पकाएर खाने गरेको उनीहरुले सुनाए । दुई दशक अघिसम्म चुरे जंगलमै बसेर जंगलमा कन्दमुल खोजेर, खोलामा माछा मारेर र बन्यजन्तुको शिकार गरेर जीविका चलाउने वनकरियाको जीवनशैली हिजोआज फेरिएको छ । वनबाट वस्तीमा घर बनाएर बस्न थालेका वनकरिया हरेक क्षेत्रमा अघि बढ्दै गइरहेका छन् । उनीहरु खेतीपाती पनि गरिरहेका छन् । उनीहरुलाई खेतीपाती गरेर ६ महिनालाई खान पुगेको र बाँकी ज्याला मजदुरी गरेर जीवन चलाउँदै आइरहेको उनीहरु बताउँछन् ।
वनकरियाहरु शिक्षाको क्षेत्रमा पनि बिस्तारै अघि बढिरहेका छन् । अहिलेसम्म ६ जना महिला र एकजना पुरुष बनकरियाले एसएलसी÷एसईई उत्तीर्ण गरेका
छन् । तिमध्ये एक हुन सन्तोषी वनकारिया, उनी अहिले जेटिए कोर्ष सकाएर आफ्नै पेसा व्यवसायमा लागेकी छिन् । वनमा जन्मेर वनको कन्दमुल खाएर हुर्केकी सन्तोषीको लागि शिक्षा हाँसिल गर्न र यहाँसम्म आइपुग्न निकै कठिन भएको थियो । उनी कयौँ दिन भोकभोकै स्कुल गएको दुखद् दिनहरु सम्झदै भावुक हुन्छिन । उनले आफूले सिकेका र जानेका कुरा आफूमा मात्र सीमित नराखेर अरुलाई बाँढ्ने गरेकी छन् । जेटिए जागिर छोडेर अहिले उनले गाउँका वनकरिया बालबालिकालाई विहान र वेलुका पढाउने गरेकी छन् ।
वस्ती माझमा रहेको सामुदायिक भवनमा राखेर उनीहरुलाई पढाउने गरेकी हुन् । शिशु कक्षादेखि ८ कक्षासम्मका ३५ जनालाई उनले पढाउँदै आएकी छन् । वनकरिया बालबालिकालाई पढाए वापत आदिवासी राष्ट्रिय जनजाति महिला मंचले केही पारिश्रमिक दिने गरेको छ । बालबालिकालाई कापीकलम र शैक्षिक सामग्री सहयोगीदाताले दिने गरेका छन् । बस्तीमा सरकारले वनकरिया समुदायलाई विकास गर्नका लागि प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । भत्ताले उनीहरुको जीवनमा सुधार आएको छ ।







