माओवादी र नेकपा एसका जिल्ला नेताले रोजे एमाले
हेटौंडा-नेकपा एमाले मकवानपुरमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का नेताहरु प्रवेश गरेका छन् ।
नेकपा एमाले, मकवानपुर द्वारा आयोजित ४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा माओवादी र नेकपा एस परित्याग गर्दै एक दर्जन जिल्लास्तरका नेताहरु प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्यहरु दिलबहादुर दोर्जे पाख्रिन, गंगा भट्टराई, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना, राजप्रकाश भण्डारी, भरत लामिछाने, राजेश्वर दाहाल, जानुका संजेल, विष्णुमाया सापकोटा, गोविन्द देवकोटा, बकैया गाउँपालिका कमिटीका सदस्य कृष्णबहादुर भोलनलगायतले एमाले रोजेको नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिए ।
कार्यक्रममा दिल दोर्जे पाख्रिनले हिजो नौलो जनवाद, समाजवाद भन्दै कुर्सीलाई प्राथमिकता दिएको र माओवादी पार्टीमा विचलन भएकोले एमाले रोजेको बताए । माओवादीमा व्यक्तिवादी हावी भएको, जनता र मुलुकको भविष्य नरहेको आरोप पाख्रिनले लगाएका छन् ।
नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिनाले पार्टी विभाजन हुनु नेतृत्वको गल्ति भएको र मुहान सफा हुनुपर्ने बताए । माओवादी केन्द्रबाट पार्टी प्रवेश गर्ने गंगा भट्टराईले गणतन्त्र आइसकेपछि माओवादी केन्द्र मुलुकलाई अगाडि बढाउन सक्छ भन्ने विश्वास हटेको बताउँदै एमालेप्रति विश्वास भएकोले रोजाईमा परेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा, केन्द्रीय संगठन विभागका प्रमुख काशिनाथ अधिकारीले नेपाली राजनीतिमा निर्णायक तथा आदर्श पार्टी निर्माण गर्ने अभियानमा रहेको बताएका छन् । नेकपा एमाले बलियो हुनु कम्युनिष्ट आन्दोलनलाई मात्र नभई मुलुककै आवश्यकता भएको दाबी उनले गरे । उनले समाजवादमा पुग्नको लागि संघीय लोतान्त्रिक गणतन्त्रको सुदृढ गर्दै राष्ट्रियता, विकास र समृद्विको लागि मुलुकमा नेकपा एमालेको नेतृत्व विना सम्भव नहुने धारणा राखे ।
नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे चर्चा गर्दै, पार्टी स्थापना गर्नु, पार्टी निर्माणमा बैचारिक आधार खडा गर्नु र लोकतन्त्रको लागि संयुक्त जनआन्दोलनको प्रस्ताव महत्वपूर्ण रहेको नेता अधिकारीले बताउँदै संयुक्त जनआन्दोलनको प्रस्तावलाई नेपाली कांग्रेसले नटेर्दा मुलुकमा २०१७ सालको निरंकुश शासन आएको बताए । पुष्पलालको प्रस्ताव स्वीकार्दा २०४६ र २०६२÷०६३ सालको जनआन्दोलन सफल भएर लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भएको अधिकारीले बताए ।
कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले दुःख, कष्ट र संकटमा जो टिक्न सक्छ त्यही नेता हुने पुष्पलालबाट सिक्नुपर्ने बताए । मकवानपुर जिल्लालाई नेकपा एमाले बलियो पार्टी बनाउने र पहिलो बन्ने दावीसमेत गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य रामेश्वर रानाले पुष्पलालले युवा अवस्थामा विचार, संगठन र संघर्ष कम्युनिष्ट आन्दोलनमा विशेष योगदान रहेको चर्चा गरेका छन् ।
उनले क्रान्तिको शत्रु र मित्र छुट्याएर सही वर्ग विश्लेषण गर्नुभएको भन्दै आजको एमाले पुष्पलालको विरासत भएको रानाको भनाई छ । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय निर्वाचन कमिटीका सदस्य अनन्त पौडेल लगायतले मन्तव्य राखेका थिए ।







