निर्माण व्यवसायीले पाउने रकम तत्काल उपलब्ध होस्ः सांसद बर्तौला
हेटौंडा-राज्यले भुक्तानी रोक्ने समस्या भएपछि आन्दोलित बनेका निर्माण व्यवसायीको पक्षमा सांसद महेशकुमार बर्तौलाले सरकारको ध्यानाकर्षण गराएका छन् ।निर्माण व्यवसायी संघ मकवानपुर विगत १० दिनदेखि जिल्लामा आन्दोलनरत् छन् । देशभरका निर्माण व्यवसायीहरुराज्यले नै भुक्तानी रकम रोकेको भन्दै आन्दोलनमा छन् । मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बर्तौलाले निर्माण व्यवसायीको रकम तत्काल उपलब्ध गराउनुपर्ने भन्दै सामाजिक सञ्जाल मार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘यतिबेला निर्माण ब्यवसायी आन्दोलनमा छन् । केही न्यायोचित मागसहित । निर्माण व्यवसायीहरु माथि सरकारले आर्थिक अपराध गरिरहेको छ । सरकारले सार्वजनिक निर्माण कार्यबापतको अर्बौ रकम निर्माण व्यावसायीलाई भुक्तानी गर्न बाँकी छ । जसका कारण समग्र सार्वजनिक निर्माण कार्य प्रभावित भइरहेको छ ।’, बर्तौलाले भनेका छन् ।
निर्माण व्यवसायी राज्यवाट पाउनुपर्ने अर्बौं रकम समयमै नपाएकै कारण मोबाइल बन्द गरेर, घर छोडेर भाग्नुपर्ने, बेखवर हुनुपर्ने बाध्यात्मक अवस्थामा पुगेको उनले बताए । ‘अपराध सरकारले गर्ने सजाय निर्माण व्यवसायीले पाउने जस्तो भएको छ, यो उचित होइन । यस्तो हुनुहुँदैन ।’, बर्तौलाले भने ।
कतिपय स्थानमा मुआब्जा वितरण, जंगल कटान समस्या, स्थानीय अवरोधलगायतका कारणले पनि कयौं आयोजना सुचारु हुन नसकेको भन्दै बर्तौलाले सरकारको ध्यानाकर्षण गराएका छन् । यसको पनि प्रभावकारी समन्वय, सहजीकरण र निकास सरकारले नै दिनुपर्ने उनको भनाई छ ।अति संवेदनशील राष्ट्रिय सरोकारको विषयमा समेत सरकार जिम्मेवार बन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको उनले बताए ।राजस्व परिचालन र अर्थतन्त्रमा गम्भीर धक्का पुगिरहेको समयमा सरकार कुम्भकर्ण निन्द्रामा मस्त रहेको बर्तौलाले आरोप लागए । कतिपय निर्माण व्यवसायी केही राजनीतिक नेतृत्वसँगको उठबस, पहुँच र सम्बन्धका कारण कारवाही हुनबाट बचिरहने अबस्था रहेको पनि उनले औंल्याएका छन् ।
पटक–पटक म्याद थप्दासमेत बर्सौसम्म ठेक्का सम्झौता अनुसार काम नगर्ने, कामलाई अलपत्र पार्ने, ढिलासुस्ती गर्ने, गुणस्तरहीन काम गरेर संरचना कमजोर बनाउने, राज्यलाई हानी पु¥याउने निर्माण व्यावसायी माथि भने सरकारले कानुन अनुसार कारबाहीको दायरामा ल्याउनु पर्ने उनले बताए ।







