हेटौंडा–१५ मा व्यवासायीक स्याउ खेती गर्दै छतकुली
हेटौंडा- सामान्यतया जाडो वा वर्षमा एकपटक हिमपात हुने स्थानमा मात्र स्याउ फलेको सुन्ने÷देख्ने मानिसलाई हेटौंडामा पनि स्याउ फल्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, हेटौंडामा पनि व्यावसायिक रुपमा स्याउखेती सफल भएको छ । ३ वर्षअघि सुरु गरिएको स्याउखेतीले उत्पादन सुरु गरेको हो । सुरुमा परीक्षणको लागि लगाइएको स्याउले फल दिन थालेपछि थप स्याउ खेती गरिएको हो । हेटौंडामा स्याउखेती हुन्छ कि हुदैन ? भन्ने दुविधा हुँदाहुँदै पनि परीक्षण गरिएको हो ।
स्याउखेती प्रायः हिमाली भेगमा मात्र गरिने भएपनि पछिल्लो समयमा हिमपात नहुने भेगमा पनि स्याउ खेतीले सफलता पाएको छ । हेटौंडामा स्याउखेती परीक्षण सफल भएको छ ।मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएका श्याम छतकुलीले हेटौंडा–१५ स्थित सानोसुकौलीमा स्याउखेतीको सफल परीक्षण गरेका हुन् । कुनैपनि उचाई वा दूरी पत्तालगाउने प्रोटेक्टर फर्मुला पत्ता लगाएर बिगतमा चर्चा बटुलेका छतकुलीले स्याउखेतीको सफल परीक्षण गरेका हुन् ।
सुरुमा एक बोट लगाएर परीक्षण गरिएको स्याउले एक वर्षमा नै उत्पादन दिन थालेको छतकुलीले जानकारी दिए । त्यसपछि भारतको राजस्थानबाट प्रतिगोटा ८ सय ५० रुपैयाँका दरले एक सय ५४ वटा विरुवा ल्याएर स्याउ खेती गरेको उनले बताए । एचआरएम प्रजातिको विरुवा परीक्षणको लागि लगाइएको थियो । सुरु गरेको एकवर्षमै उत्पादन दिन थालेको छतकुलीले बताए । स्याउ खेती ३ वर्षसम्म परीक्षण कालमै रहेकोले उत्पादन भएका स्याउ भने बजारमा नपठाएको उनले बताए ।
११ कठ्ठा जमिनमध्ये स्याउखेती ८ कठ्ठामा रहेको छतकुलीले बताए । करिब ३ करोड लगानीमा व्यवसाय सुरु गरेको उनले पछिल्लो समय आफैंले स्याउको विरुवा उत्पादन गरेर विक्रीवितवरण गरिरहेका छन् । यतिवेला उनले नेपालका थुप्रै ठाउँमा स्याउको विरुवा वितवरण गरिसकेका छन् । बुटवलमा मात्रै ४० हजार स्याउको विरुवा बिक्री गरेर पठाइएको छतकुलीका छोरा ईश्वर छतकुलीले जानकारी दिए ।
अन्य जिल्लामा पनि स्याउको विरुवा माग भइरहेको उनले वताए । हेटौंडामा पनि भीमफेदी गाउपालिका सुपिङमा, गढी गाउँपालिकामा परीक्षणका लागि विरुवा सशुल्क पाठाएको उनले बताएका छन् । पछिल्लो समय छतकुली आफैंले ब्यावसायिक फार्म दर्ता गरेर विभिन्न किसिमका फलफूल (अंगुर, सुन्तला, कुरीलो कागती) पनि परीक्षण गरिरहेका छन् ।
बोटविरुवालाई मल चाहिने भएपछि उनले भैसी र गाई पालेका छन् । छतकुलीका बाबुछोरा भएर श्यामा वाटिका एकीकृत कृषि तथा पशुपंक्षी फार्म दर्ता गरी संचालन गरिरहेका छन् । उनको फार्महाउसमा रहेका वोटविरुमा अहिलेसम्म कुनै कीटनाशक औषधि र रासायनिक मल प्रयोग नगरिएको दाबी गर्दै मलको लागि गड्यौला, गाईभैंसीको मल, जैविकमल मात्र प्रयोग गरिएको बताए ।
छतकुलीको फार्ममा गड्यौला मल पनि उत्पादन गरिएको छ । पछिल्लो समय स्याउ फल्न थालेपछि उनको व्यावसायिक पाटो नै बदलिएको छ । सुरुमा
परीक्षणको लागि लगाएको विरुवाले उत्पादन दिन थालेपछि छतकुली उत्साहित भएका छन् ।छतकुलीका बाबुछोरा मिलेर संचालन गरेको फार्ममा होम स्टे पनि सुरुवात गरिएको छ । होम स्टेमा आउने पाहुनाको स्वागत गर्न सकेसम्म फार्ममा उत्पादन भएको अर्गानिक खाद्यबस्तु उपलब्ध गराउने गरिएको उनीहरु बताउँछन् । फार्मलाई बहुउपयोगी रुपमा संचालन गर्ने लक्ष्य रहेको उनीहरुले बताएका छन् ।
पूर्वपश्चिम राजमार्ग रातोमाटेबाट करिब १ किलोमिटर दूरीमा पर्ने सानोसुकौलीमा स्याउखेती राम्रो भएको हेटौंडा–१५ का वडाअध्यक्ष सुनिल मोक्तानले बताए । अहिलेका युवापुस्ता सबै जना विदेशिने सपना बुनिरहेका हुन्छन् । न उनीहरुसँग सीप राम्रो हुन्छ न कुनै काममा अब्बल हुन्छन् तर, पनि विदेशिने रहर हुँदैगर्दा हाम्रै टोलछिमेकमा एउटा शिक्षितवर्गले कृषिमा होमिएर कृषिक्रान्ति गर्नु जिल्लामै उदाहरणीय भएको अध्यक्ष मोक्तानले साझाकुरालाइ बताए ।
अहिले छतकुलीको स्याउखेती गरिएको बगैंचाको अवलोकन गर्नेहरु दिनदिनै बढ्दै गएको छ । बिगतका दिनमा सानोसुकौलीमा खानेपानीको समस्या थियो । सुख्खा मौसममा स्थानीयबासी खानेपानीका लागि बाराको ३ नं पुलसम्म गाग्री बोकेर जाने गरेका थिए । तर, त्यही सुख्खा भनिएको सानोसुकौलीमा रसिलो स्याउ फलेपछि स्थानीय पनि खशीले उत्साहित भएका छन् ।







