मकवानपुरमा पहिरो र बाढीको उच्चजोखिम, विपद् प्रतिकारको योजना के छ ?

साझाकुरा
२०८० श्रावण २४, बुधबार ११:३६

हेटौंडा-दुई दिनसम्म मनसुनी वर्षा निरन्तर भएसँगै मकवानपुरमा बाढीपहिरोको उच्चजोखिम बढेकोछ । सोमबार रातीदेखि परेको निन्तर वर्षाले सडकहरु अवरुद्ध हुनुका साथै जनधनको क्षति पु¥याएको छ ।जिल्लाका १० स्थानीय तह सबै पहिरो र बाढीको जोखिममा छन् । मकवानपुरको राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी, बकैया र बागमती गाउँपालिका पहिरोको जोखिममा छन् । जसमध्ये राक्सिराङ र कैलाश गाउँपालिकामा पहिरोको उच्चजोखिम छ । हेटौंडा, मनहरी, बागमती गाउँपालिका बाढीको उच्चजोखिमयुक्त क्षेत्र हुन भने थाहा नगरपालिका, बकैया, भीमफेदी, इन्द्रसरोबर, मकवानपुरगढी, राक्सिराङ तथा कैलाश गाउँपालिका बाढी र पहिरो दुवैको जोखिम क्षेत्रको रुपमा रहेको छन् ।

पूर्वी क्षेत्रस्थित बागमतीको बागमती नदीसहित चौराहाखोला र दर्जन बढी चुरेबाट झर्ने खहरेखोलाको कारण यहाँ वर्षेनि सयौं हेक्टर जमिन कटान हुनुको साथै मानवीय क्षति हुने गरेको
छ ।मंगलबार बिहान बागमती गाउँपालिकामा पहिरो जाँदा एक घर पुरिएको र मानवीय क्षति भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । शर्माले मकवानपुरमा मनसुन दुई दिनदेखि भएपछि पहिरो र बाढी जान थालेको बताए ।

उनले सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई विपद् प्रतिकारको योजनाअन्तर्गत् तयारी अवस्थामा राखिएको जानकारी दिए । आवश्यक परेको अवस्थामा नेपाली सेनाको टोलीलाई पनि विपद् रोकथाम र नियन्त्रणको लागि परिचालन गर्न प्रशासन तयार रहेको शर्माले बताए । उनकाअनुसार जिल्ला प्रशासनको नेतृत्वमा रहने जिल्ला विपद् समितिको बैठकले जिल्लाका १० वटै स्थानीय
तहलाई विपद् व्यवस्थापनका लागि बजेट व्यवस्था गर्न अनुरोध गरिसकेको छ ।

मनसुन सक्रिय भएपछि नदीउकास क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन सहायक प्रजिअ शर्माले अनुरोध गरे । पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ तथा कैलाश गाउँपालिकामा रहेका मनहरी खोला, लोथर खोला तथा राप्ती खोलाले वर्षेनी ठुलो मात्रामा जमिन कटान गर्नुको साथै बस्तिमा खोला पस्ने समस्या रहेको छ । जिल्लाकै पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । मकवानपुरगढीको आमभञ्याङ, सुकौरा, बुढीचौर क्षेत्रमा बाढी तथा पहिरोको उच्चजोखिम रहँदै आएको छ भने शिवम् सिमेन्टको खानीको अव्यवस्थित उत्खननको कारण यि क्षेत्रमा उच्चजोखिम रहेको छ । राक्सिराङ गाउँपालिकामा पनि ऋद्धिसिद्धि सिमेन्टको खानी क्षेत्र सञ्चालन पछि गाउँ नै विस्थापित भइसकेको छ ।

हरेक वर्ष बाढी, पहिरो, डुबान चट्याङलगायत प्राकृतिक जोखिमवहन गरिरहेको मकवानपुरमा २०७८ सालमा स्थानीय तहले २ हजार १ सय ६५ भन्दा धेरै घर प्राकृतिक प्रकोपको अतिजोखिममा
रहेका जनाएका थिए । जसमध्ये करिब १ हजार ३ सय घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका थिए । तर, २०८० असारसम्म आइपुग्दा व्यवस्थित स्थानान्तरणको काम हुन सकेको छैन । दुर्गम
राक्सिराङ गाउँपालिकाको महाभारत भीरमा हाल धाजा फाटिएको छ । वडा नम्वर–४ मा पर्ने भीर पनि चर्किँदै गएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिकाको ९ वटै वडा विपद्को जोखिममा भए पनि ९ नम्वर वडा सबैभन्दा बढी जोखिममा रहेका अध्यक्ष मल्लले बताए ।

वडा नम्बर ९ को खैराङमा २०७२ सालको भूकम्पले जमिन पुरै चर्किएको भन्दै पुनर्निर्माण प्राधिकरणले सोही बेलामा बस्नको लागि उपयुक्त नरहेको बताएको थियो । गाउँपालिकाले जोखिमयुक्त बस्ती स्थानान्तरणको लागि पहल गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको मल्लको गुनासो छ । बकैया गाउँपालिकाको–६ वटा वडामा पहिरो जोखिम छ । फास्ट ट्रयाकको बाटो निर्माण भइरहेको गाउँपालिकामा बाटो निर्माण गर्दा सावधानी नअपनाएकाले ८० घर जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अनुसार ठूलो संख्यामा स्थानीयको ज्यान नै जोखिममा हुँदा पनि सम्बन्धित निकाय मौन छ ।

सहायक प्रजिअ शर्माले सम्बन्धित स्थानीय तहले बस्ती स्थानान्तरणको निर्णय गरेर जिल्लामा ल्याए सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रशासन तयार रहेको बताए । २०७२ सालको भूकम्प पछि मकवानपुरमा बाढी तथा पहिरोका घटना बढी हुन थालेका छन् । भूभाग कमजोर हुँदा बाढी पहिरोका घटना बढी हुन गएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाका अधिकांश भाग विपद्को जोखिममा रहेको जानकारी भएपनि विपद्बाट बच्ने तथा उद्दारका लागि पूर्वतयारी भने पर्याप्त नहुनुका साथै कमजोर छ । भारी वर्षा तथा भूकम्पका कारण पुराना र निष्क्रिय भएका पहिरो पुनः सक्रिय हुन सक्छन्, नयाँ पहिरोसमेत जान सक्छ । नेपालमा २०७२ को भूकम्पका कारण १४ जिल्लामा पहिरोका घटना बढेको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनका कारण हुने पहिरोको जोखिममा ३२ जिल्ला र उच्चजोखिममा २२ जिल्ला रहेका छन् । जसमध्ये मकवानपुर पनि रहेको छ । बाढीको उच्चजोखिममा रहेका जिल्ला २३ वटा छन् । १० वर्षमा भएको क्षति, जनघनत्व, भौगोलिक अवस्थिति र भौतिक संरचनाका आधारमा जोखिम स्थिति मूल्यांकन गरिएको प्राधिकरणले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, हेटौंडा, चितवन, तुलसीपुर, घोराही एवं वीरेन्द्रनगरको सहरी क्षेत्रलाई बाढीको दृष्टिबाट उच्चप्रकोपयुक्त क्षेत्र मानिएको प्राधिकरणले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*