भारतीयदेखि आन्तरिक पर्यटकले भरिँदै मकवानपुरगढी, ढुंगेगढीको प्रचार अभाव

साझाकुरा
२०८० भाद्र ४, सोमबार ०९:०४

हेटौंडा-क्षेत्रफलको दृष्टिकोणले देशकै ठूलो मकवानपुरगढी दरवार घुम्नेको संख्यामा निरन्तर वृद्धि भइरहेको छ ।हेटौंडा बजारबाट नजिकै रहेको र सहज सडक पहुँचमा भएकाले आन्तरिक पर्यटकहरुको घुँइचो मकवानपुरगढी दरबारमा लागेको छ । शेन वंशीय राजाले राज्य चलाएको गढीको ऐतिहासिकता अवलोकन गर्नेको संख्या मध्यबर्खामा पनि दैनिक पाँच सयदेखि हजारकै हाराहारीमा छ । गर्मी छल्न मधेस प्रदेशबाट आउने आगन्तुकहरुका कारण पनि गढीमा चहलपहल रहिरहेको गढीमा चटपटे पसल चलाइरहेकी मकवानपुरगढी–२ की सीता तिमल्सिनाले बताइन् । आर्थिक वर्षको अन्त्यसँगै केही फुर्सदिला बनेका विभिन्न आर्थिक गतिविधिमा संलग्न संघसस्था, वित्तीय संस्थाहरु, सहकारी, विभिन्न स्थानीय तहलगायत संघसंस्थाहरुबाट सामूहिक भ्रमणमा आउने आगन्तुकको संख्यामा वृद्धि भएको पाइएको छ ।

विसं १००० तिरै तुला सेन नाम गरेका पहिलो सेन वंशीय राजाले निर्माण गरेको मानिने मकवानपुरगढी ११ औँ शताब्दीको भव्य संरचनामध्येको एक मानिन्छ । तर, पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उदृत गर्दै साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौं शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ । सेनहरु मकवानपुरबाट पश्चिततर्फ लाग्दै पाल्पा कब्जा गर्दै शासन गर्न थालेपछि मकवानपुर पनि पाल्पाअन्तर्गत नै रहेकामा १६१० सालदेखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले अलग्गै मकवानपुर राज्य स्थापना गरे ।

पृथ्वीनाराण शाहले कब्जा गर्नु अघिसम्म मकवानपुर स्वतन्त्र राज्य रहेको इतिहासकारहरु बताउँछन् । लोहाङ सेनले राज्य सञ्चालन गर्दा मकवानपुर हालको बिहारको विभिन्न क्षेत्रहरु, पूर्वी पहाडका सबै क्षेत्र, विजयपुर, मोरङ तथा भारतको पूर्णिया तथा सिक्किमसम्मै मकवानपुर राज्य फैलिएको पुरातत्वविद् जनकलाल शर्माको एक लेखमा उल्लेख छ । विशाल मकवानपुर राज्यको दुईसय ९ वर्षसम्म राजधानी रहेको मकवानपुरगढीको दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चललपहल निकै बढेको हो ।

विगतमा हिउँदयाममा प्रशस्त पर्यटकहरु आउने गरे पनि वर्षायाममा भने शून्य जस्तै हुने गरेकामा यो वर्ष भने वर्षायाममा पनि आन्तरिक पर्यटक आइरहेको स्थानीयले बताएका छन् । गढीमा मधेस प्रदेशबाट गर्मी छल्न आउने आन्तरिक पर्यटकको संख्या बढिरहेको मकवानपुरगढी–२ का स्थानीयबासी बाबुलाल तितुङ बताउँछन् । उनका अनुसार ललितपुर, काठमाडौं, सिन्धुली, चितवनबाट यहाँ नियमितजसो पर्यटकहरु आउने गरेका छन् । पक्की र स्तरीय सडकमार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरुको संख्या बढेको हुनसक्ने मकवानपुरगढीका भीमप्रसाद घिमिरेले बताए ।

हेटौंडा बजारबाट १६ किलोमिटर उत्तरपूर्वतर्फ कान्तिराजपथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सिधा आउन चाहनेहरुले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्दछ । चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिंगन कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश हुन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटकहरु पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फूल्ने मौसममा लालीगुराँसले ढपक्कै हुने ढुंगे गढीसमेत पर्यटकले भरिन थालेका छन् । प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढंगेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीय सुवास पाख्रिन बताउँछन् ।

मकवानपुरगढीको ठूलो गढी दरबारसँगै ढुंगे गढी पनि पर्यटनको प्रचुर सम्भावना बोकेको स्थान हो । विगतमा एउटा विशाल ढुंगो र जीर्ण मन्दिर रहेको स्थानलाई मकवानपुरगढी गाउँपालिकाको अघिल्लो कार्यकालमा पुरातत्व विभागले मुहार फेर्ने काम गरेको छ । हाल ढुंगे गढीमा पिकनिक स्पटदेखि आकर्षक मन्दिरको मर्मतसम्भार, सिंढीहरु निर्माण भएका छन् । ढुंगे गढीको मन्दिरबाटै बारामा गढीमाई सारिएको इतिहास खोजकर्तासमेत रहेका पत्रकार रिपेश रिद्धि दाहाल बताउँछन् । ढुंगे गढीको प्रचार हुन नसक्दा पर्यटकहरु ठूलो गढीबाटै फर्किने गरेका छन् । मकवानपुरगढीका निवर्तमान अध्यक्ष बिदुर हुमागाईंले ढुंगे गढीको प्रचार गरेर पर्यटकहरुलाई त्याहाँसम्म पु¥याउनु पर्नेमा जोड दिन्छन् ।

मुसलमानी आक्रमणबाट बँच्न भारतबाट भागेर आएका सेन वंशीय राज खलक तुला सेनले विसं १००० मा निर्माण गरेको भनिए पनि यथेष्ठ प्रमाण पुग्दैन । कतिपय इतिहासकारका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शीलालेखहरुमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावली अनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुवात गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*