‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ मा जुट्दै माओवादी
हेटौंडा-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगर कमिटी पार्टी सुदृढिकरणका लागि संघीय कमिटीको निर्देशन अनुसार तीन महिने विशेष अभियानमा जुटेको छ । पार्टी केन्द्रले निर्देशित गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ मा उनीहरु जुटेका हुन् । शनिबार हेटौंडामा बसेको हेटौंडा उपमहानगर कमिटीको पूर्णबैठकले यसबारेमा विशेष तयारी अघि बढाएको उपमहानगर कमिटीका अध्यक्ष तीर्थ थापामगरले जानकारी दिए । बैठकमा बागमती प्रदेश, सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पछिल्लो समयमा कार्यकर्तामा निराशा छाइरहेको पाइएकोले सक्रियता र सशक्तता बढाउन अभियान अघि बढाइएको बताएकी छन् ।
निजी स्र्वाभन्दा माथि उठेर परिवर्तनलाई बचाउँदै सक्रिय रुपमा अभियानमा जुट्न उनले हेटौंडा पार्टी पङ्तिलाई निर्देशन दिएकी छन् । माओवादी पार्टीलाई २०८४ मा २०६४ को अवस्थामा पु¥याउने लक्ष्यकासाथ तीन महिने अभियानमा जनताका घरघरमा पुग्न कार्यकर्तालाई उनले निर्देशन दिएकी हुन् । बैठकमा केन्द्रीय सदस्य तथा तीनमहिने अभियानमा हेटौंडा उपमहानगरका कमाण्डर डीपी ढकालले पार्टीमा कार्यकर्ता पङ्तिमा जनगुनासो सुन्ने गरेको भन्दै गुनासोलाई सुन्दै सबै पार्टीपङ्ति रुपान्तरणमा लाग्न अनुरोध गरेका छन् । बागमती प्रदेश सांसद तथा माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले तीन महिने अभियान सफल बनाउँदै निरन्तर संगठन निर्माणमा सक्रिय रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अभियान तीन चरणमा हुने
पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गर्ने माओवादी केन्द्रले उल्लेख गरेको छ । दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला जस्ता कार्यक्रम गरिने उल्लेख छ । जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यवद्धताका कार्यक्रम तेस्रो चरणमा गरिने माओवादी केन्द्रले जनाएको छ ।
भदौ १६ गतेसम्म वडामा तयारी बैठक
माओवादी पार्टी उपमहानगर कमिटीले भदौ ११ गते हेटौंडा उपमहानगरअन्तर्गत वडा नम्बर १, २, ३, ४, ५ को अभियानका लागि तयारी बैठक राखेको छ । भदौ १३ गते वडा नम्बर ६, ७, ८, ९, १० को बैठक राखेको छ । भदौ १५ गते वडा नम्बर ११, १२, १३, १४, १५ को बैठक राखेको छ । यस्तै, १६ गते वडा नम्बर १६, १७, १८ र १९ को अभियान तयारी बैठक राखेको छ । आगामी भदौ १६ गते हेटौंडा उपमहानगरको १९ वटै वडामा तीन महिने अभियानको एकसाथ उद्घाटन गरिने माओवादी केन्द्र हेटौंडा उपमहागर कमिटीले जनाएको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद एवम् सचेतक रत्न ढकाल, बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला संयोजक, सर्केश घलान, बागमती प्रदेश सचिवालय सदस्य एवम् जिल्ला सचिवभीम पाख्रिन, बागमती प्रदेश कमिटी सदस्य तथा नगरइन्चार्ज विवेकराई, बागमती प्रदेश कमिटीसदस्य लक्ष्मी पाख्रिनलगायतको उपस्थिति थियो ।







