एमालेले सहमति कार्यान्वयनको अवस्था खोजेपछि प्रदेशसभा स्थगित !
हेटौंडा-चालू आर्थिक वर्ष २०८०÷८१ को लागि बजेट पास गरेयता करिब दुई महिनासम्म बागमती प्रदेशसभा बैठक बस्न सकेको छैन ।हेटौंडा–१०, स्थित प्रदेशसभा भवन २२ असारदेखि सुनसान छ । दुई महिनापछि सदन १८ भदौ सोमबारका लागि बोलाइएको थियो । तर, सांसदहरु प्रदेशसभा बैठकका लागि हेटौंडा आएर बैठक नै बस्न नपाई गन्तव्यमा फर्कनुपरेको छ । प्रदेशसभा बैठक एकाएक स्थगित हुनुको मुख्य कारण थियो, बागमतीको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीचको पूर्वसहमति । १ असारमा बजेट ल्याएको सरकारले १२ असारदेखि बजेटमाथिको छलफलका लागि सदन बोलाएपछि एमालेसहितका प्रतिपक्षी दलको अवरोधले बजेट पास हुन २१ असारसम्म पुग्नु परेको थियो ।
बजेट पूर्वाग्राही ढंगले ल्याइएको, मुख्यमन्त्री, अर्थमन्त्री र भौतिकमन्त्रीको जिल्लामा मात्रै बजेट थुपारिएको, जनभावनाअनुसार बजेट प्रस्तुत नभएकोलगायतका विषय उठाएर एमालेले करिब ४ वटा प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । प्रदेशसभा बैठकको गतिरोध हटाउँदै बजेट पास गर्न हतारोमा रहेको सरकारले २१ असार अगाडि एमालेसँग आन्तरिक सहमति पनि गरेको थियो ।
सहमति कार्यान्वयनको अवस्थाबारे १८ भदौमा सरकारलाई प्रश्न गर्दा प्रदेश सभा बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको खुलेको छ ।सोमबार दिउँसो साढे १ बजेको लागि आह्वान गरिएको प्रदेशसभा विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले एक सूचना जारी गर्दै आज (सोमबार)को लागि तय भएको कार्यसूची हटाएर अर्को बैठक यही भदौ २० गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा स्थगित भएको जानकारी गराएका थिए ।
प्रदेशसभा बैठकका लागि कार्यसूची तयार गर्न सोमबार बिहान साढे ११ बजेदेखि कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, राप्रपा दलका नेताहरु र सरकारबीच विभिन्न विषयमा सहमति हुन नसकेपछि साढे १ बजेको लागि बोलाइएको बैठक साढे ३ देखि ४ बजेसम्म बस्ने भनिएको थियो । तर, यो समयमा बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको हो । विपद्ले प्रदेशका जिल्लामा जनधनको क्षति भइरहँदा सरकार सदन बन्द गरेर बसेको प्रतिपक्ष दलहरुले गुनासो गरेपछि बैठक राखिएको थियो । तर, एमाले र सरकारको राजनीतिक सम्बन्ध उतारचढाव रहेकाले सदन सुचारु हुने अनिश्चित छ ।
एमालेले विगतमा माग गरेको बजेट कार्यान्वयन नभएको भन्दै प्रदेशसभा घेराबन्दी गर्ने चेतावनी दिएकाले बैठक बस्न नसकेको सरकारका एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीले प्रदेशसभा बैठक राखेर प्रतिपक्षीले अवरोध गर्ने भएपछि स्थगित गर्नुपरेको बताए । तर, नेकपा एमाले बागमती प्रदेशसभाका मुख्य सचेतक मधुसुदन पौडेलले एमालेले पूर्वसहमतिको कार्यान्वयनको अवस्था माग्दा सरकार आफैंले बैठक स्थगित गरेको दाबी गरे । ‘बैठक स्थगित गर्न हामीले भनेका पनि हैनौं, बैठक अवरुद्ध गर्छौ भनेका पनि थिएनौं । उहाँहरुलाई हामीले सहमति किन कार्यान्वयन भएन भनेर सोधेका थियौं । त्यसपछि सरकारले नै बैठक स्थगित गरेको हो ।’, पौडेलले भने ।
सरकारसँग गरिएको सहमति २ महिनासम्म कार्यान्वयन नभएको उनले बताए । जनताका आवश्यकतालाई मध्यनजर गरी पर्याप्त योजना छनोट, सांसदलाई अधिकार सम्पन्न गराउन अनुगमनलाई व्यवस्थित गराउने विषय कार्यान्वयन नभएपछि एमालेले खबरदारी गरेको उनले बताए । ‘२ महिनासम्म किन सहमति पालना भएन ? मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रक्रियामै अगाडि बढाइएन । सहमति कार्यान्वयन नभएसम्म सदन सहज सञ्चालन हुने स्थिति देखिँदैन ।’, पौडेलको चेतावनी छ । सरकारपक्षले सहमति कार्यान्वयन गर्छौ भनेर अलमल मात्रै पार्न खोजेको भन्दै यो राम्रो विषय नभएको पौडेलले बताए ।
सरकारले राजनीतिक इमान्दारिता देखाउन नसकेको उनको दाबी छ । राजनीतिक सहमति कार्यान्वयन नगर्नु इमान्दारिता देखाउन नसक्नु भन्दै पौडेलले सरकार आफैं पछि हटेको उनको भनाई छ । सरकारले सहमति कार्यान्वयनको विषयमा कुनै चासो नदिएपछि सदन सञ्चालन गर्नेमा पनि सरकारपक्ष इच्छुक नदेखिएको पौडेल बताउँछन् । सरकारसँग एमालेले आन्तरिक छलफल गरिरहेको र सहमति कार्यान्वयनमा जोड दिइने उनले जानकारी दिए । प्रदेशसभामा आज मंगलबार संसदीय समितिको बैठक राखिएको छ ।







