हेटौंडामा करोड बढी मुल्यको अवैध सामानसहित ३ जना पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीद्वारा डेढ करोड रुपैयाँ बराबरको अवैध सामान सहित ३ जना पक्राउ गरिएको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र रातोमाटे चौकीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित सडकमा सवारी साधनलाई रोकी चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सारछली ल्याइएका लत्ताकपडा, ईलोक्ट्रोनिक्स सामान, मदिरालगायतका सामानहरु बरामद गरिएको मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले बताए ।
प्रहरी प्रमुख रिजालका अनुसार भारतको सिलोङबाट सुनसरी भन्सार हुंँदै बुटवलतर्फ जान आउँदै गरेको युपि ७५ एटि ८६३२ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्दा भारतीय सैनिकको रिटायर्ड बन्दोबस्तीको समना रहेको छ भनि भन्सार विल देखाएकोमा शंका लागि चेकजांच गर्ने क्रममा अवैध रुपमा भन्सार छलि ल्याईएका सामानहरु बरामद भएको बताए ।
बरामद भएका सामानमा ८३ लाख २९ हजार ८ सय बराबरको लत्ताकपडा, तीन लाख ५० हजारको ईलोक्ट्रोनिक्स समान, १६ लाख ३८ हजार बराबरको मदिरा र ३१ लाख २७ हजार २ सय ५० रुपैयाँ बराबरको अन्य समान गरी जम्मा एक करोड ३४ लाख ४५ हजार ५० रुपैयाँ मूल्य बराबरको मालसमान फेला परेको रिजालले बताए ।
पक्राउ परेका मालसामान सहित ट्रकका चालक भारतको उत्तरप्रदेश टावा भद्रपुर थाना बस्ने वर्ष ५५ को गोरेलाल, ट्रकमा सवार जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं ४ बस्ने वर्ष ४९ को निमकाजी श्रेष्ठ र जिल्ला पर्वत विहादी गाउँपालिका वडा नं ४ बस्ने वर्ष ३९ को खेमबहादुर गुरुङलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको उनले बताए । पछिल्लो समय यस स्थानबाट ठुलो मात्रमा अवैध सामानहरु बरामद भैरहेका छन् ।







