ठेकेदारको म्याद १८ महिना तर, चार वर्षसम्म भवन अधुरै

अझै एक वर्ष लाग्ने
निशा गुरुङ
२०८० आश्विन ५, शुक्रबार ०८:५२

हेटौंडा-१८ महिनामा निर्माण सम्पन्न गर्ने तयारीका साथ सम्झौता भएको बागमती प्रदेशसभाको नयाँ भवन ४ वर्षसम्म पनि निर्माणाधीन अवस्थामै छ ।ठेक्का दिने भौतिक पूर्वाधार विकास मन्त्रालय र ठेकदार कम्पनीबीच समयमा सही समन्वय नहुँदा प्रदेशसभाको नयाँ भवन अझै निर्माण सम्पन्न हुन नसकेको हो ।

भवन निर्माणको लागि तोकिएको म्यादभन्दा २७ महिना बढी समय सकिदासम्म बागमती प्रदेशसभा सचिवालय भवन निर्माण सकिएको छैन । प्रदेश सरकार सञ्चालनको लागि सभाकक्ष साँघुरो भएपछि अघिल्लो कार्यकालमै संसद सचिवालय निर्माणको काम थालिएको थियो तर, हालसम्म अधुरै छ ।

भवन अधुरो हुनुमा ठेकदार पक्षले सरकारी पक्ष (बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय) लाई दोष दिंदै आएको छ । यता शहरी विकास तथा भवन कार्यालयले ठेकदार कम्पनीले नै कहिले कोभिड त कहिले अव्यवहारिक कारण देखाउँदै ढिलाइ गरेको बताएको छ ।

तर, लिखितरुपमा भने उनीहरुले निर्माण अवधि थप्नको लागि निर्माण सामग्री बाहिरी मुलुकबाट ल्याउनु पर्ने र आयात गर्न समय लागेको तथा कोभिडको कारण निर्माणमा ढिलाइ भएको स्पष्टिकरण निर्माण कम्पनीले शहरी विकास तथा भवन कार्यालयमा पेश गरेर म्याद थप गरिएको छ । प्रदेशको प्रदेशसभा सचिवालय निर्माणको लागि ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा ठेक्का सम्झौता गरी अर्घाखाँची÷सगुन÷पारामाउण्ट जोइन्ट भेन्चरले निर्माण पाटो जिम्मा लिएको थियो । वि.स २०७७ मङ्सिर १० गते प्रदेशसभा सचिवालय निर्माणको लागि तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले भवनको शिलान्यास गरेका थिए ।

१८ महिनाभित्र अर्थात २०७९ जेठ ९ गते काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोमा ४ वर्षसम्म पनि निर्माण कार्य सकिएको छैन । पछिल्लोपटक २०८० जेठ ३० गतेसम्ममा निर्माण सक्ने सम्झौता थप गरिएको हो । त्यो म्याद पनि सकिएको छ । यो चरणको निर्माण कार्य सकिएपछि पुनः अर्को टेण्डर मार्फत् फिनिसिङ्, भवनभित्र विद्युतीकरण, रङरोगनलगायतको कामको लागि अर्को टेण्डर गर्नुपर्ने छ । टेण्डर प्रक्रिया सुरु गरेर काम सक्दासम्म १ वर्षसम्म लाग्ने शहरी विकास तथा भवन कार्यालयको अनुमान छ । हाल काम गरिरहेको कम्पनीले आफ्नो जिम्मेवारीको काम यो साता सकिने बताएको छ ।

अहिले भवनको भित्रीपाटोमा मार्बल विछ्याउने काम भइरहेको छ । कम्पनीका ठेकदार ईश्वर बस्नेतका अनुसार दुई महिनाभित्र सबै काम सकिने छ । ‘हाम्रो साइडको काम ९९.८६ प्रतिशत सकिसकेको छ, सरकारले भेरिएसन अर्डर गर्न प्रक्रिया अगाडि बढाईरहेको छ ।’, ठेकेदार बस्नेतले भने, ‘भेरिएसन फाईनल गरेर दिएको दुई महिनाभित्र काम सकिन्छ ।’,

उनका अनुसार बिजुलीको काम मात्रै रहेको बताइएको छ । भवनको पहिलो चरणको काम सकिएपछि बाँकी काम गर्नको लागि अर्को टेण्डर गर्नुपर्ने हुन्छ, यसको लागि अघिल्लो निर्माण कम्पनीले आफ्नो काम सकेको पत्र अनिवार्य छ । आफूहरुलाई डेढ करोड घाटा भएको भन्दै निर्माण कम्पनीले मुद्दासमेत हालेको छ ।

६ महिनामा सक्ने लक्ष्य कम्पनीको थियो । जब काम्पनीले काम थाल्यो, शहरी विकास तथा भवन कार्यालय हेटौंडाले स्वीकृत नक्सा नै नदिएको ठेकेदार कम्पनीको दाबी छ । सम्बन्धित निकायले नै पूरा डिजाइनयुक्त नक्सा नदिएपछि आफूहरुले प्रदेशको भौतिक मन्त्रालयमै पुगेर आफैं पहुँचको प्रयोग गरेर आफैंले डिजाइन बनाएर मौखिक स्वीकृति लिएर काम सुरु गरेको उनले बताए । कागजी प्रक्रिया सकेर निर्माण कम्पनीलाई काम दिन नौ महिना लागेको बस्नेतको दाबि छ । त्यसपछि म्याद सकियो ।

लगभग निर्माण सकिएको भवनमा पनि अझै विद्युतीकरण गर्न समस्या रहेको इञ्जिनियर प्रभात मिश्र बताउँछन् । निर्माणको क्रममा विभिन्न काममा समस्या भएको भन्दै ठेकदार कम्पनीले भवन कार्यालयलाई हालसम्म ५८ वटा चिठी लेखेको तर, एउटा पनि पत्रको जवाफ र समन्वय नभएको मिश्रले बताए । निर्माण कार्य १८ महिनामा सम्पन्न हुने र सानदार नयाँ सचिवालयमा प्रदेशसभाको बैठक बस्ने आशामा पहिलो कार्यकालका सांसदहरुको कार्यकाल सकियो । हाल बाहालवाला सांसदहरु पनि नयाँ भनवनमा बैठक बस्न पाउनेमा आशावादी छन् ।

निर्माण कार्य सकिनै लागेको भएपनि बत्तिलगायतको फिनिसिङ गर्न अर्को टेण्डर गर्नुपर्छ, जुन टेण्डर गर्नको लागि अघिल्लो काम पुरा भएको पत्र अनिवार्य हुन्छ । यो काम गर्न नै करिब १ वर्ष लाग्ने अनुमान गरिएको छ । भवन कार्यालयका कर्मचारीका अनुसार निर्माण कार्य सम्पन्न हुन अझै एक वर्ष लाग्न सक्ने दावी छ ।

‘लगभग पहिलो चरणको निर्माण कार्य सकिएको छ । तर, दोश्रो चरणको काम फर्निचरको लागि अर्को ठेक्का आह्वान गर्नुपर्ने हुन्छ ।’ उनले भने, ‘डिजाईन भईसकेर हामी फाईनल प्रोसेसमा छौं अझै प्रर्णरुपमा सम्पन्न हुन एक वर्ष लाग्न सक्छ ।’,

हाल प्रदेशसभा सचिवालय तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको साँघुरो भवनमा सञ्चालन हुँदै आएको छ । ११० सदस्यीय प्रदेश सांसदहरु सबै उपस्थित हुँदा कुर्सी अटाउन नै हम्मेहम्मे पर्छ । यही साँघुरो बैठक कक्षबाट प्रदेशसभाले पहिलो कार्यकाल पूरा ग¥यो । भौतिक मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएकोमा हालसम्म भवन निर्माणको काम सम्पन्न हुन नसकेको हो ।

प्रदेशसभा भवनको लगभग ९६ प्रतिशत मात्र काम सम्पन्न भएको छ । २ सय ५० जना क्षमताको निर्माणाधीन बागमती प्रदेशसभा हल तोकिएको समयमा काम सम्पन्न नभएपछि यही २०८० जेठ अन्तिमसम्ममा निर्माण पूरा गर्न समय थप गरेको थियो । यता, संसद हल नबन्दा बैठक सञ्चालन गर्न कठिन भैरहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्का बताउँछन् । उनका अनुसार नयाँ भवनमा बैठक बस्न थालिएपछि खुल्ला ठाउँमा सहज वातावरण सिर्जना हुनेछ । यतिमात्रै होइन, दर्शकदीर्घादेखि पत्रकारसम्मका लागि सहज हुने सचिव खड्काले बताए ।

बैठककक्ष साँघुरो हुँदा सांसदलाई रोष्टमसम्म पुग्न अप्ठ्यारो हुने गरेको छ । हाल प्रयोगमा रहेको भवन पुरानो संरचनामा बनेको हुनाले योअपाङ्गमैत्री समेत छैन । हाल रहेका ११० मध्ये १ सांसद ह्वील चियर प्रयोगकर्ता भएको थाहा पाएपछि राताराता गरेर रोस्टमसम्म ह्वील चियर पुग्ने बाटो बनाइएको छ । रामेछाप जिल्लाबाट समानुपातिक संसदमा निर्वाचित भएकी राप्रपाकी सांसद लक्ष्मी घिमिरेले नीति निर्माण गर्ने तहमै अपाङ्मैत्री संरचनाप्रति चासो नहुनुमा दुखद् भएको बताइन् ।

अहिले बन्दै गरेको भवन भने अपाङ्गमैत्री छ । सांसद घिमिरेलाई ह्विल चियर गुडाएर रोष्टमसम्म पुग्न सकस भएपछि उनले अपाङ्गमैत्री बैठककक्ष नबनेसम्म आफू रोष्टम नै नजाने घोषणा गरेकी छिन् । नेपाल सरकारले अब बन्ने सबै संरचना अपाङ्गमैत्री बनाउने कार्यबिधि पास गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*