थाहा रुप्सेका लामा घरमै मृत भेटिए
हेटौंडा- मकवानपुरमा आइतबार एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । थाहा नगरपालिका–४, रुप्से बस्ने ३७ वर्र्षीय दिनेश लामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।प्रहरीनायवउपरीक्षक भण्डारीका अनुसार, लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
बागमती प्रदेशमा एकैदिनमा चारजना मृतफेला
थाहाको रुप्सेमा लामासहित बागमती प्रदेशमा एकैदिनमा चारजना मृत अवस्थामा भेटिएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार मकवानपुर, चितवन, सिन्धुली र नुवाकोटमा एक–एक जना झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । थाहाका लामा आफ्नै घरको धुरीको बलोमा, नुवाकोट ककनी गाउँपालिका–४, रानीपौवास्थित रानीपौवाबाट डाँडागाउँ जाने कच्ची सडकखण्डको छेउमा हाल नामथर, वतन नखुलेको २६ वर्र्षीय पुरुष झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनी सल्लाको रुखमा नाईलनको डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
चितवन कालिका नगरपालिका–४, पिपरियाटोलको सृजनाचोक बस्ने १४ बर्र्षीया अग्रता प्रधान झुण्डिएको अवस्थामा मृतफेला परेकी छन् । उनी आफू सुत्ने कोठाको सिलिङपंखा झुण्ड्याउने रडमा सलको पासो लगाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।यसैगरी सिन्धुली तिनपाटन गाउँपालिका–४, बेशीटार घरभई हाल कमलामाई नगरपालिका–६ सिद्धस्थली बोडिङ नजिकै डेरा गरी बस्ने २४ वर्र्षीया सन्जु रानामगर मृत भेटिएकी हुन् । उनी आफू सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृतफेला प्रहरीले जनाएको छ ।







