हेटौंडामा तीनदिन ड्रागन महोत्सव हुँदै

महोत्सवसँगै प्रादेशिक कृषि थोकबजार सञ्चालनमा ल्याइने
साझाकुरा
२०८३ असार १०, बुधबार ०९:४०

हेटौंड-नेपालमै पहिलोपटक ड्रागन फ्रुट महोत्सव आयोजना हुने भएको छ । प्रादेशिक कृषि थोकबजार सञ्चालन समिति, ड्रागन फ्रुट महोत्सव उपसमितिको आयोजनामा असार ११, १२ र १३ गते हेटौंडास्थित प्रादेशिक कृषि थोक बजार परिसरमा तीनदिने महोत्सव आयोजना गर्न लागिएको हो । ‘उत्पादकदेखि उपभोक्ता सम्म ताजा र गुणस्तरीय उत्पादन’ भन्ने नारासहित आयोजना हुने महोत्सवलाई बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।

महोत्सवसँगै प्रादेशिक कृषि थोकबजारलाई औपचारिकरुपमा सञ्चालनमा ल्याइने जनाइएको छ । महोत्सवको मुख्य उद्देश्य ड्रागन फल उत्पादक किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै उत्पादनको बजारीकरणमा सहयोग पु¥याउनु आयोजकले मंगलबार आयेजित पत्रकार सम्मेलनमा जनाएका छन् ।

पछिल्ला वर्षमा मकवानपुरमा ड्रागन फल उत्पादन उल्लेखनीय रुपमा वृद्धि भएपनि बजार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले महोत्सव मार्फत् त्यसको समाधान खोज्ने प्रयास गरिएको महोत्सव आयोजक समितिका संयोजक सुरज थिङले बताएका छन् । मकवानपुर देशकै प्रमुख ड्रागन फ्रुट उत्पादन गर्ने जिल्लामध्ये एक हो । मकवानपुरको मनहरी, बकैया र बागमती गाउँपालिका तथा हेटौंडा उपमहानगरका विभिन्न क्षेत्रमा व्यावसायिकरुपमा ड्रागन फलखेती विस्तार भएको छ । हाल जिल्लामा करिब ४० देखि ५० जना किसानले व्यावसायिकरुपमा ड्रागन फल उत्पादन गरिरहेका छन् ।

महोत्सवमा रातो, सेतो र पहेँलो प्रजातिका ड्रागनको प्रदर्शनी तथा सहुलियत मूल्यमा बिक्रीका लागि करिब ३० वटा स्टल रहनेछन् । ताजा ड्रागन फलका साथै ड्रागन फलबाट उत्पादन गरिएका जुस, जाम, सलाद, आइसक्रिम, चिया तथा फूलबाट तयार गरिने ग्रीन टीलगायत परिकार पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने जनाइएको छ । सहभागी किसानलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका लागि करिब दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये बागमती प्रदेश सरकारबाट ७० हजार रुपैयाँ र हेटौंडा उपमहानगरबाट एक लाख रुपैयाँ सहयोग प्राप्त हुने बताइएको छ ।

यस वर्ष ड्रागन फलको उत्पादन अपेक्षाभन्दा धेरै भएकाले बजार व्यवस्थापनमा चुनौती देखिएको किसानले बताएका छन् । हेटौंडामा दैनिक करिब ५०० किलोग्राम ड्रागन खपत हुने गरेको छ भने अन्य जिल्लाबाट बिक्रीका लागि ड्रागन आयात हुने गरेको छ । स्थानीय बजारमा गुणस्तरका आधारमा ए, बी र सी श्रेणीमा वर्गीकरण गरी प्रतिकिलो २ सयदेखि तीन सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । महोत्सव अवधिमा करिब २ हजार ५ सय देखि ३ हजार किलोग्राम ड्रागन बिक्री हुने अनुमान गरिएको छ ।

समापन समारोहमा सबैभन्दा बढी उत्पादन गर्ने, सबैभन्दा बढी बिक्री गर्ने तथा उत्कृष्ट बाइ प्रोडक्ट उत्पादन गर्ने किसानलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सव प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म तथा बेलुका ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*