हेटौंडाको २ अर्ब ८५ करोड बजेट, पर्यटनवर्ष २०८३ घोषणा

‘आमाको सपना, छोरीको उडान’
साझाकुरा
२०८३ असार १०, बुधबार ०९:३६

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
मंगलबार उपमहानगरको १९ औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट आकार ५ करोड रुपैयाँले घटाइएको जानकारी दिए । उपमहानगरले आगामी वर्षका लागि नेपालको संविधान, सोह्रौँ योजना, दिगो विकास लक्ष्य, चालु आर्थिक वर्षको समीक्षा तथा ‘समृद्ध हेटौंडा’ र ‘महिलामैत्री हेटौंडा’ बहसबाट प्राप्त सुझावलाई आधार बनाएर बजेट तर्जुमा गरिएको जनाएको छ । बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सुशासन तथा आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रस्तुत बजेटअनुसार उपमहानगरले आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार तथा संघीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । पूर्वाधार विकासतर्फ ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ भने वडातहका योजना तथा कार्यक्रमका लागि मात्रै ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ । सडक सुरक्षा प्रवद्र्धन कार्यक्रम तथा ‘उज्यालो सहर’ सडकबत्ती व्यवस्थापनका लागि ९५ लाख रुपैयाँ र विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडानका लागि ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

ठूला आयोजनाको सम्भाव्यता अध्ययन, डिजाइन, अनुसन्धान तथा परियोजना बैंक निर्माणका लागि ५० लाख रुपैयाँ व्यवस्था गरिएको छ ।स्वच्छ खानेपानी व्यवस्थापनका लागि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा १ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । आकस्मिक पूर्वाधार मर्मतका लागि २ करोड, एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि ४ करोड ६० लाख तथा सहरी तथा पूर्वाधार विकास कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ बजेट छुट्याइएको छ । शिक्षाक्षेत्रमा नगर शिक्षा नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइएको छ । स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ अपा·ता भएका व्यक्ति, एकलमहिला तथा पुरुष, पोषण कोशेलीघर, पाठेघरको मुखको क्यान्सर तथा डायलाइसिस सेवा सञ्चालनका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

हटिया र पदमपोखरीमा सञ्चालित पालिकास्तरीय अस्पतालको सेवा विस्तार तथा पूर्वाधार विकासका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । आर्थिक विकासतर्फ कृषिक्षेत्र सुधार कार्यक्रमका लागि ४ करोड १६ लाख, पशु विकासका लागि ३ करोड २४ लाख तथा उद्योग र सहकारीक्षेत्रका लागि १ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । खेलकुद विकासअन्तर्गत् मेयरकप, उपमेयरकप तथा अन्य प्रतियोगिता सञ्चालनका लागि १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ । नगर सफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि १ करोड रुपैयाँ, दमकल सञ्चालन तथा अग्नि नियन्त्रण व्यवस्थापनका लागि २ करोड १० लाख रुपैयाँ र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४५ करोड रुपैयाँ र संस्थागत क्षमता विकास, सुशासन प्रवद्र्धन तथा सूचना प्रविधिको प्रयोग विस्तारका लागि २ करोड ६५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उपप्रमुख बानियाँले जानकारी दिए । प्रस्तुत बजेट आगामी आर्थिक वर्षमा सेवाप्रवाह सुधार, पूर्वाधार विस्तार र समग्र नगर विकासलाई केन्द्रमा राखेर कार्यान्वयन गरिने जनाइएको छ ।

समृद्ध हेटौंडा निर्माणका लागि पूर्वाधार, पर्यटन, कृषि र सुशासनमा जोड

उपमहानगरले आर्थिक वर्ष २०८३÷८४ का लागि समृद्ध हेटौंडा निर्माणको दीर्घकालीन सोचलाई केन्द्रमा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभामा नगरप्रमुख मीनाकुमारी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिगो विकास, सुशासन, आर्थिक समृद्धि, पूर्वाधार विकास, वातावरण संरक्षण, रोजगारी सिर्जना तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताइन् ।

नगरप्रमुख लामाले स्थानीय तहको विकासलाई जनअपेक्षासँग जोड्दै नगरबासीको आवश्यकता, सुझाव र समृद्ध हेटौंडा बहसबाट प्राप्त निष्कर्षलाई आधार बनाएर नीति तथा कार्यक्रम तयार गरिएको जानकारी दिइन् । उनकाअनुसार आगामी वर्षको नीति तथा कार्यक्रमले उत्पादन, उद्यमशीलता, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र आधुनिक सहरी व्यवस्थापनलाई विशेष प्राथमिकता दिएको छ । पूर्वाधार विकासतर्फ भूउपयोग योजनाअनुसार व्यवस्थित बस्ती विकासको अवधारणालाई अघि बढाइने छ । नगरभित्र आवास तथा बस्ती विकासका लागि उपयुक्त क्षेत्रको पहिचान गरी चरणबद्ध रुपमा योजनाबद्ध विकास गरिने नीति लिइएको छ। अनियन्त्रित सहरीकरणलाई रोक्दै व्यवस्थित र दिगो बस्ती निर्माणमा जोड दिइने नगरप्रमुख लामाले बताइन् ।

उद्योग तथा व्यवसाय व्यवस्थापनका लागि नगरभित्र छरिएर रहेका ग्यारेज तथा कवाडीजन्य व्यवसायलाई एकीकृत र व्यवस्थित बनाउन अटो भिलेज निर्माणको योजना अघि सारिएको छ । यसका लागि संघीय सरकार तथा बागमती प्रदेश सरकारसँग आवश्यक समन्वय गरिने जनाइएको छ । हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बस टर्मिनल सहितको सपिङ कम्प्लेक्स आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । नगरको यातायात व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउन यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भवन निर्माण इजाजत प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन विद्युतीय भवन इजाजत प्रणालीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने नीति लिइएको छ ।यातायात पूर्वाधारको व्यवस्थापनका लागि नगर यातायात गुरुयोजनाअनुसार सडकको मार्गाधिकार निर्धारण, नामकरण तथा सडक प्रोफाइल तयार गरिने भएको छ । बढ्दो सवारीचापलाई व्यवस्थापन गर्न सम्भावित पार्किङ क्षेत्रको पहिचान गरी निजीक्षेत्रको सहकार्यमा सशुल्क पार्किङ सेवा सञ्चालन गरिनेछ । वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन विस्तार गरिने नगरप्रमुख लामाले बताइन् ।

सुरक्षित र आधुनिक सहर निर्माणलाई प्राथमिकतामा राख्दै नगरका विभिन्न स्थानमा हाइमास्ट लाइट, सडकबत्ती तथा सिसिटिभी क्यामेरा जडान कार्यलाई निरन्तरता दिइने भएको छ । कृषिक्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणलाई विशेष प्राथमिकतामा राखिएको छ । कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गरिनेछ भने युवापुस्तालाई कृषिक्षेत्रमा आकर्षित गर्न युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरिनेछ । जेनजी पुस्तालाई उत्पादन र आयआर्जनसँग जोड्ने उद्देश्यले कृषि उद्यमशीलता, नवप्रवर्तन र आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने नगरप्रमुख लामाले बताइन् । रैथाने बाली तथा बीउ संरक्षणका लागि ‘दिदीबहिनी बीउ बैंक’ कार्यक्रम सञ्चालन गरिने भएको छ । यस कार्यक्रम मार्फत् स्थानीय जातका बीउको संरक्षण, प्रवद्र्धन र प्रयोगमा समुदायको सहभागिता बढाइने अपेक्षा गरिएको छ ।

पर्यटनक्षेत्रलाई नगरको आर्थिक विकासको महत्वपूर्ण आधारका रुपमा विकास गर्ने लक्ष्यसहित ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडामा’ अभियान सञ्चालन गरिने भएको छ । आगामी वर्षलाई ‘पर्यटन वर्ष २०८३’ का रुपमा मनाउने घोषणा गरिएको छ । एकवडा एक पर्यटकीय गन्तव्य अवधारणाअनुसार धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्वका स्थलहरुको पहिचान, संरक्षण र प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न ‘हाम्रो सम्पदा, हाम्रो सानः सिटी टुर कार्यक्रम’ लाईनिरन्तरता दिइने भएको छ । निजीक्षेत्रसँगको सहकार्यमा सञ्चालन गरिने यस कार्यक्रमले स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारसँग समन्वय गरी नगरका विभिन्न स्थानमा मिनी चिडियाखाना स्थापना गर्ने योजना अघि सारिएको छ । उद्यमशीलता विकासतर्फ नयाँ उद्यमीलाई सीप, प्रविधि र व्यवसायिक परामर्श उपलब्ध गराइने भएको छ । स्थानीयस्तरमा उत्पादन हुने गुन्द्रुक, ढाका, ड्रयागन फललगायत उत्पादनको बजारीकरण र ब्रान्डिङमा उपमहानगरले सहजीकरण गर्ने नीति लिएको छ । यसबाट स्थानीय उत्पादनको बजार विस्तार र रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ । खेलकुद विकासलाई निरन्तरता दिँदै विद्यालयस्तरीय बृहत् खेलकुद प्रतियोगिता, क्रिकेट, फुटबललगायत कार्यक्रम सञ्चालन गरिने भएको छ । महिला खेलाडीको सहभागिता र क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरिएको छ ।

महिलामैत्री हेटौंडा निर्माण अभियानलाई थप प्रभावकारी बनाउँदै नीति निर्माणदेखि योजना कार्यान्वयन र अनुगमनसम्म महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने नगरप्रमुख लामाले बताइन्। छोरीको सम्मान, शिक्षा र नेतृत्व विकासका लागि ‘आमाको सपना, छोरीको उडान’ तथा डिजिटल साक्षरता विस्तारका लागि ‘डिजिटल दिदी मोवाइल बैंकिङ कक्षा’ कार्यक्रम सञ्चालन गरिने भएको छ । स्थानीय भाषा, लिपि, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ । विविध सांस्कृतिक पहिचानको संरक्षण गर्दै भावीपुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

सुशासन र सेवाप्रवाह सुधारलाई केन्द्रमा राख्दै उपमहानगरको संगठनात्मक संरचनाको पुनरावलोकन गरिने भएको छ । नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन उपमहानगरपालिका कार्यालय तथा सबै वडा कार्यालयमा हेल्प डेस्क स्थापना गरिनेछ । साथै पारदर्शिता,जवाफदेहिता र सदाचार प्रवद्र्धनका लागि ‘सदाचार नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नगरप्रमुख लामाले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*