बैंकिङ तथा वित्तीय क्षेत्रमा बढ्दो साइवर अपराध सम्बन्धी छलफल
हेटौंडा- बैंकिङ तथा वित्तीयक्षेत्रमा बढ्दो साइवर अपराध, अनलाइन ठगी तथा डिजिटल सुरक्षाका चुनौतीबारे सरोकारवाला निकायबीच हेटौंडामा छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले सामना गरिरहेका चुनौती, साइवर सुरक्षा, प्रहरी–बैंक समन्वय, ऋण प्रवाहमा देखिएका समस्या, बिचौलियाको प्रभाव, नक्कली केवाईसी , लोटरीको प्रलोभनमा पारेर गरिने ठगी, ग्राहकको खातामा अनधिकृत पहुँच, क्यूआर पेमेन्ट फ्रड, एटीएम स्किमिङ, मोवाइल बैंकिङ तथा कनेक्ट आईपीएस सम्बन्धी सुरक्षा जोखिम लगायत विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बैंक तथा वित्तीय संस्था केवल कारोबार गर्ने निकायमात्र नभई विपद् तथा आपत्कालीन अवस्थासमेत व्यवस्थापन गर्न सक्ने गरी सधैं तयारी अवस्थामा रहनुपर्ने बताए । रक्षित बैंकिङ प्रणाली मार्फत मात्र ग्राहकको विश्वास कायम राख्न सकिने र वित्तीयक्षेत्रलाई थप विश्वसनीय बनाउन सकिने उनको भनाइ थियो । कार्यक्रममा मकवानपुरका प्रहरीउपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले बैंकिङ तथा साइवर अपराधको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । डिजिटल सेवाको विस्तारसँगै साइवर अपराधका घटना पनि बढ्दै गएको उनले बताए ।
विशेषगरी फिसिङ लिंक पठाएर गरिने ठगी, ओटीपी तथा पिन नम्बर मागेर गरिने ठगी, नक्कली मोवाइल एप तथा वेबसाइटमार्फत् गरिने अपराध, बेटिङ तथा अन्य अवैध कारोबारसँग सम्बन्धित गतिविधि अहिलेका प्रमुख चुनौतीका रुपमा देखिएको उनको भनाइ थियो । एसपी खत्रीकाअनुसार मकवानपुरमा बैंकिङ स्क्याम तथा अनलाइन ठगीका उजुरी उल्लेख्यरुपमा आउने गरेका छन् । तर, यस्ता अपराध अनुसन्धानका लागि आवश्यक प्राविधिक जनशक्ति र स्रोतको अभाव चुनौतीकारुपमा रहेको उनले बताए । आर्थिक वर्ष २०८०÷८१ मा अनलाइन ठगीसम्बन्धी ९४ वटा उजुरी दर्ता भएका थिए ।







