मनहरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : डिजिटल सुशासनमा जोड

साझाकुरा
२०८३ असार ९, मंगलवार १२:५१

हेटौंडा- मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिकगरेको छ ।सोमबार गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रञ्जन कालाखेतीले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा डिजिटल शासनलाई बलियो बनाउन विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयमा विभिन्न व्यवस्थापन सूचनाप्रणाली (एमआईएस) लागू गरिने जनाइएको छ । गाउँपालिकाको आफ्नै मोवाइल एप तथा डिजिटल सेवा विस्तार गर्ने योजना समेटिएको छ । स्थानीय तहको सम्पूर्ण विवरण समेटिएको डिजिटल प्रोफाइल तयार गरी तथ्यमा आधारित योजना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

शिक्षाक्षेत्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधारलाई मुख्य प्राथमिकता दिइएको छ । विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढाइने, शिक्षकको क्षमता अभिवृद्धि गरिने तथा प्राविधिक शिक्षालाई विस्तार गरिने कार्यक्रम रहेको छ । विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि अतिरिक्त कक्षा, शैक्षिकपरीक्षण तथा नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । स्वास्थ्यतर्फ गाउँपालिकाले ‘जिरो होम डेलिभरी’ लाई निरन्तरता दिने भएको छ । गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यसुरक्षामा विशेष जोड दिँदै आधारभूत स्वास्थ्यसेवाको पहुँच विस्तार गरिने जनाइएको छ ।

मानसिक स्वास्थ्य, किशोरस्वास्थ्य तथा नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य संस्थामा डिजिटल स्वास्थ्य अभिलेख (डिजिटल हेल्थ) प्रणाली लागू गर्ने नीति लिइएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा बाँकी रहेका बस्तीमा सुरक्षित खानेपानी सेवा विस्तार गर्ने, जलवायु परिवर्तनका प्रभावलाई ध्यानमा राखी पानीका स्रोत संरक्षण गर्ने तथा सरसफाइका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । पूर्वाधार विकासतर्फ सडक सञ्जाल विस्तार, पुल तथा कल्भर्ट निर्माण, कृषि सडक स्तरोन्नति र सार्वजनिक भवनको निर्माण तथा मर्मतलाई निरन्तरता दिइने जनाइएको छ ।

कृषिक्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उद्देश्यले कृषकलाई प्रविधि, तालिम तथा अनुदानमार्फत सहयोग गर्ने नीति ल्याइएको छ । उन्नत बीउ, सिँचाइ, पशुपालन, दुग्ध उत्पादन तथा कृषि यान्त्रीकरणलाई प्रोत्साहन गरिने जनाइएको छ । स्थानीय उत्पादनको बजारीकरण र कृषिमा युवाको आकर्षण बढाउने कार्यक्रम समेटिएको छ । गाउँपालिकाले सामाजिक समावेशीकरणलाई जोड दिएको छ । ज्येष्ठनागरिक, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, अपा·ता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र सहभागिता सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सभामा उपाध्यक्ष सीता पुलामीले आर्थिक विधेयक पेश गरेकी थिइन् । नयाँ अधिवेशनको पहिलो बैठकमा कार्यपालिका सदस्य शिवप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गाउँसभाको शून्य समयमा गाउँसभा सदस्य नवराज सुवेदी, रामप्रसाद सुवेदी र हीरा प्रजाले धारणा राखेका थिए । ५ नम्बर वडाध्यक्ष दीपेन्द्र अधिकारीले चालु आर्थिक वर्ष २०८२÷८३ को मुख्य उपलब्धी तथा कार्यक्रमबारे सभामा जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*