हर्नामाडीमा निःशुल्क स्वास्थ्य शिविर हुने
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडीमा आगामी असार १३ गते शनिबार निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । टोल विकास संस्था स्थापनाको २६ औँ वर्ष पूरा भएको अवसरमा स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो । टोल विकास संस्था नगरसमन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा, सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा–११ को सहआयोजनामा तथा मकवानपुर सहकारी अस्पताल हेटौंडा–१ को समन्वयमा शिविर सञ्चालन हुन लागेको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को सहयोग तथा टोल विकास संस्था वडासमन्वय समिति हेटौंडा–१८ को व्यवस्थापन रहनेछ ।
शिविरको तयारीका लागि आयोजित बैठकमा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष अनिलकुमार बानियाँ, टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका सचिव अर्जुनप्रसाद बिडारी, जनसम्पर्क अधिकृत रोयल बानियाँ, टोल विकास संस्था वडासमन्वय समिति हेटौंडा–१८ की अध्यक्ष विमला बिसुङ्खे लगायत विभिन्न टोल विकास संस्थाका पदाधिकारी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय अगुवाको उपस्थिति रहेको थियो ।
बैठकमा टोल विकास संस्था नगरसमन्वय समिति अध्यक्ष अधिकारीले समुदायको स्वास्थ्यअवस्था सुधार गर्न तथा विशेषज्ञ स्वास्थ्य सेवा नागरिकको पहुँचमा पु¥याउन शिविर आयोजना गरिएको बताए । उनले टोल विकास संस्थालाई घरघरमा सूचना पु¥याई अधिकतम नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरेका छन् । वडाअध्यक्ष बानियाँले स्वास्थ्य नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै वडा कार्यालयले सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको बताएका छन् ।
उनले शिविरबाट विशेषगरी ज्येष्ठनागरिक, महिला, बालबालिका तथा आर्थिकरुपमा कमजोर नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्दै सबै वडावासीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरे । असार १३ गते शनिबार बिहान ८ बजेदेखि हेटौंडा–१८ स्थित ज्योति उच्च माध्यमिक विद्यालयमा सञ्चालन हुने शिविरमा मुटुरोग, हाडजोर्नी तथा नसारोग, बालरोग, युरोलोजी, स्त्री तथा प्रसूति रोग लगायत विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ । आवश्यक औषधि निःशुल्क वितरण गरिनुका साथै रक्तचाप, मधुमेह लगायत आधारभूत स्वास्थ्य परीक्षण सेवासमेत उपलब्ध गराइनेछ ।







