मुलाबाट मनग्गे आम्दानी लिएपछि थाहाका किसान दंग
हेटौंडा-एक महिना अघिसम्म मूल्य नपाएको गुनासो गर्दैआएका मकवानपुरको थाहा नगरपालिका–७ र ८ का किसानले अहिले मुलामा राम्रो मूल्य पाएपछि द· परेका छन् ।एक महिनाअघिसम्म मुला प्रतिकेजी १५ रुपैयाँमा बिक्री गर्न धौधौ परेका किसानले अहिले खतेबारीमा नै पाँच गुना मूल्य पाएका हुन् । अहिले बारीबाट प्रतिकेजी ६० रुपैयाँमा बिक्री गरेका किसानले प्रतिकेजी ७५ रुपैयाँमा ग्रिन मुला बिक्री गरेका छन् ।
स्थानीय व्यवसायी रत्नबहादुर गोलेले यस क्षेत्रका किसानले तरकारीमध्येमा मुलामा राम्रो मूल्य पाएको मात्र होइन, भाउका दृष्टिले तरकारीको राजा नै बनेको बताए । कहिलेकाहीँ त प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएर फाल्नुपर्ने हुन्छ, उनले भने, ‘साउनको १५–१६ पछि मुलाको मूल्य उकालो लागेको हो ।’थाहा नगरपालिका–७ का अधिकांश किसान मुलाखेतीमा संलग्न छन् ।
केही समयअघि बन्दा फाल्नुपर्ने अवस्था थियो, अहिले प्रतिकेजी ५० रुपैयाँ खेतबारीबाटै बिक्री भएको उनले सुनाए । वडा ७ र ८ बाट दैनिक अहिले ३० टनसम्म मुला बिक्री हुनेगरेको छ । बिक्री भएको मुलामध्ये अधिकांश काठमाडौंमा केही पोखरा, हेटौंडालगायत बजारमा बिक्री हुँदै आएको छ । अहिले व्यापारीहरु थाहानगरको वडा ७ र ८ का गाउँमा नै पुगेर मुला खरिदगरी लैजाने गरेका छन् ।







