डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता
हेटौंडा-पछिल्ला दिनमा हेटौंडा, पोखरा लगायतका क्षेत्रमा डाक्टरमाथि भएका कुटपिटलगायतका आक्रमणका घटनामा दोषिलाई ऐनअनुसार नै कारबाही गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।हेटौंडालगायतका क्षेत्रमा डाक्टरमाथि भएको कुटपिटमा कानुन अनुसार कारबाही हुने प्रतिबद्धता जनाए पछि चिकित्सक संघ र
सरकारबीच तत्काललाई आन्दोलन रोक्ने र सेवा नियमित सुचारु गर्ने सहमति भएको जनाइएको छ । पछिल्लो पटक हेटौंडापछि पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो । चिकित्सक तथा स्वास्थ्यकर्र्मीमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्र्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिवद्धता जनाएको हो ।
हेटौंडाको सञ्चो अस्पतालमा दुई डाक्टर, मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ । साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐन अनुसार नै कारबाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले प्रतिवद्धता जनाएका चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्र्कीले जानकारी दिए ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघलगायतका प्रतिनिधिको उपस्थिति थियो । रेजिडेन्ट चिकित्सकहरुले डाक्टरमाथि आक्रमण गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाएर घटनाको अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । उनीहरुले यो माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
हेटौंडाको सञ्चो अस्पतालमा दुई जना डाक्टरमाथि कुटपिट घटना संलग्न ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरिसकेको छ । पछिल्लो पटक पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनी बस्ने ३६ बर्र्षीय जीवन लामा छन् । यसअघि हेटौंडा–१२ सिक्रेनी बस्ने ४० वर्र्षीय सुनिल पाख्रिन, रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान, अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो । हेटौंडा–१२ का ४१ वर्र्षीय राजेश प्रधानको उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको भन्दै मृतकका आफन्तसहित एक समूहले गत भाद्र २७ गते डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमै कुटपिट गरेका थिए ।







