बागमतीमा गर्भवती र सुत्केरीलाई हवाई उद्दार सेवा
हेटौंडा- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्दार सेवा दिने भएको छ ।मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा.खगेश्वर गेलालका अनुसार यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्नेछ । यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने उनले जानकारी दिए ।
मन्त्रालयले प्रदेशभित्रका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पु¥याएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था पनि गरेको छ । स्वास्थ्यमन्त्री उत्तम जोशी नियुक्त हुँदा पहिलो निर्णय जोखिममा रहेका गर्भवती तथा सुत्केरीको हवाई उद्दार गरिने कुरा उल्लेख गरेको थियो । सोही विषय कार्यान्वयन गर्न निर्देशिका बनाएर काम अघि बढाइएको हो । उनले भने ‘प्रदेशभित्रका विकट ठाउँका महिलाले भोग्नुपरेको समस्या सम्बोधन गर्न यो निर्णय गरेको हुँ ।’,
बागमती प्रदेशका १३ जिल्लामध्ये उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाहेक सबै जिल्ला विकट छन् । ललितपुरका केही क्षेत्र पनि विकट नै छन् । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, सिन्धुली, नुवाकोट, मकवानपुर, चितवन, काभ्रे र रसुवा गरी १० वटै जिल्ला विकट छन् । जसमध्ये सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, धादिङ, नुवाकोटका अधिकांश क्षेत्रमा सडक समेत पुगेको छैन । अति विकट क्षेत्रमा बसोबास गर्ने गर्भवती र सुत्केरी महिलाका लागि हवाई उद्दार सेवा प्रभावकारी बन्ने अपेक्षा प्रदेश सरकारले लिएको छ ।
उपचारको अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउनु परेको भन्दै उनले अबका दिनमा त्यो समस्या नआओस् भन्नका लागि बजेट विनियोजन गरी काम अघि बढाइएको बताए । मन्त्री जोशीले थपे ‘देशकै स्वास्थ्यका क्षेत्रमा अब्बल जिल्ला यो प्रदेशमा पर्छ । त्यति मात्रै होइन, निकै विकट ठाउँ पनि यही प्रदेशमा छन् ।’, कतिपय महिलाले बच्चा जन्माउँदा उपचार नपाएर ज्यान गुमाउनुपरेको र कतिपयले बच्चा जन्मिएपछि उपचार नपाएर पनि मृत्यु भएको उनले बताए ।
बागमती प्रदेश सरकार स्थापनाको ६ वर्षमा गर्भवती र सुत्केरी महिलाका लागि बल्ल हवाई उद्दारको सेवा सुरु भएता पनि मकवानपुरमा विगतमै हवाई उद्दारका लागि आवश्यक पर्ने हेलिप्याड निर्माण गरिएको थियो । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने विकट राक्सिराङ गाउँपालिकाको सबै वडामा हेलिप्याड यसअघि नै निर्माण गरेको थियो । गत आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाले वडामार्फत सबै वडामा हेलिप्याड निर्माण गरेको थियो । राक्सिराङको सबै वडामा सडक पहुँच नभएको, सहजै एम्बुलेन्स जान सक्ने अवस्था नरहेको र राक्सिराङबाट मनहरी बजार, हेटौंडा वा चितवन पुग्न लामो समय लाग्ने भएपछि हवाई उद्दारको उद्देश्यले हेलिप्याड बनाएको हो ।
९ वटा वडा रहेको राक्सिराङमा ‘एक वडा, एक हेलिप्याड’ कार्यक्रमअन्तर्गत सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए । प्रत्येक वडालाई ५० हजार रुपैयाँ बजेट विनियोजन गरेर निर्माण गरिएको थियो । विकट क्षेत्रका कारण सबै वडामा सडक निर्माण नभएको र यातायातको पहुँच नहुँदा गम्भीर विरामी वा संकटका समयमा हेलिकप्टरमार्फत उद्दार र सामग्री ढुवानी गर्न सकिने उद्देश्यले हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।स्थानीय स्रोत साधनको उपयोग गरेर न्यून लागतमा हेलिप्याड निर्माण गरिएको उनको भनाई छ ।
गाउँपालिकाका अनुसार कुल चार लाख ५० हजार रुपैंया लागतमा सबै वडामा हेलिप्याड निर्माण भएको हो । राक्सिराङको सबै वडामा कच्ची सडकसमेत निर्माण नहुँदा त्यस क्षेत्रका बासिन्दाले बर्षौंदेखि समस्या भोग्दै आएका छन् । स्थानीय सरकार आएपछि राक्सिराङका हरेक क्षेत्रमा पनि सडकको ट्रयाक निर्माण गरिएको छ । विकट गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण भइसकेको अवस्थामा बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा भने हालसम्म एउटा पनि हेलिप्याड बनाइएको छैन । खुला मैदानको रुपमा रहेको हुप्रचौरमै हेलिकप्टर ल्याण्ड गराउने गरिन्छ ।







