वैदेशिक रोजगारीमा देखिएका समस्याबारे प्रदेशस्तरीय अन्तरक्रिया

साझाकुरा
२०८० आश्विन १३, शनिबार १२:२०

हेटौंडा-हेटौंडामा वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विधमान समस्याका बारेमा प्रदेशस्तरीय अन्तरक्रिया भएको छ ।सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा वैदेशिक रोजगारका सम्बन्धमा देखापरेका वर्तमान समस्या, सरकारद्वारा जारी नीति, ऐन, नियमावलीका बारेमा प्रदेशका सरोकारवाला निकायबीच अन्तरक्रिया भएको हो । सञ्जालको केन्द्रीय कोषाध्यक्ष चाँदनी राणाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, प्रदेश नीति तथा योजना आयोगका प्रा.डा. नरविक्रम थापा, श्रमरोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सचिव तीर्थराज भट्टराईलगायतको उपस्थिति थियो । श्रम तथा रोजगारविज्ञ निलाम्बर बडालले प्रस्तुतीकरण राखेका थिए ।

बडालले बागमती प्रदेश वार्षिक नीति तथा कार्यक्रम २०८०÷८१ बारे जानकारी गराउँदै सातवटा प्रदेशमध्ये श्रम तथारोजगारको क्षेत्रमा बागमती प्रदेशले बनाएको कानुन सबैभन्दा प्रभावकारी रहेको बताए । अन्य प्रदेश भन्दा बागमती श्रम तथा रोजगारको नीति निर्माणमा अब्बल देखिएको बडालको दाबी थियो । उनले ‘सिक्दै, कमाउँदै–कमाउँदै सिक्दै’ (व्यावसायिक र प्राविधिक शिक्षा) कार्यक्रम, सीप परीक्षणको संस्थागत प्रवन्ध (वैदेशिक रोजगारीमा आर्जित सीप), विप्रेषणलाई उत्पादनसँग जोड्न प्रोत्साहन, युवा उद्यमशीलता तथा रोजगार अभिवृद्धि कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको ज्ञान, सीप र क्षमता उपयोग, समस्यामा परेर फर्केकाहरुको पुनःस्थापना, नेपाल पक्षराष्ट्र भएका सन्धि प्रतिवद्धता कार्यान्वयन प्राथमिकतामा रहेको बताए ।

बडालले वैदेशिक रोजगारीमा देखिएका समस्या तथा चुनौतीमा महिला आप्रवासी श्रमिक र घरेलु श्रमिकलाई लगाइएका विभिन्न स्वरुपका प्रतिबन्धले मानवबेचबिखन र शोषणको जोखिम बढाएको बताए । पर्याप्त जानकारी र सीपको अभावका कारण नेपाली महिलाहरु कम पारिश्रमिकमा काम गर्न जान बाध्य भएको, लिंग र लैंगिकतामा आधारित खण्डिकृत तथ्यांकको अभावमा महिला र अन्य लिंगका व्यक्तिका अनुभव र योगदानको निरन्तर वेवास्ता भइरहेको बडालको भनाई थियो ।

नेपालले गन्तव्य मुलुकहरुसँग गरेका अधिकांश द्विपक्षीय सम्झौतामा लैंिगक प्रावधान समाविष्ट नभएको, जोर्डनसँगको बाहेक अन्य सम्झौतामा घरेलु श्रमिकका अधिकार रक्षा सुनिश्चित नभएको, सेवा सुविधाको विकेन्द्रीकरण नहुँदा वैदेशिक रोजगारीका अवसर र न्यायमा पहुँच कम भएको बडालले बताए । अन्तरक्रियालाई सम्बोधन गर्दै नगर प्रमुख लामाले वैदेशिक रोजगारमा जाने नेपालीहरु हरेक देशमा पुगेको बताइन् ।

नेपालका नागरिकलाई धेरै अधिकार रहेको बताइन् । उनले ऐन, नियम कानुन कार्यान्वयन हुन नसक्दा एउटा जनप्रतिनिधिले चाहेर पनि राम्रो काम गर्न सहज नभएको बताएकी छन् । उनले संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्दा सहकार्य नहुनाले श्रम तथा रोजगारको क्षेत्रमा उल्लेखित प्रगति हासिल हुन नसकेको बताइन् । मेयर लामाले सक्षम नागरिक उत्पादन गर्ने र श्रम गर्न वैदेशिक रोजगारमा जाँदा कसरी सुरक्षित हुने ? कुरा सिकाउन जरुरी रहेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*