६४ वर्षमा मेरापिक आरोहण गर्ने चौघडाका श्रेष्ठलाई सम्मान

साझाकुरा
२०८० आश्विन १४, आईतवार ०९:१०

हेटौंडा-६४ वर्षको उमेरमा ६४७४ मिटर उचाईको मेरापिक हिमाल सफल आरोहण गरेका हेटौंडा–६ का लक्ष्मीचरण श्रेष्ठलाई शनिबार सम्मानीत गरिएको छ । चौघडा बचत तथा ऋण सहकारी संस्थाले वार्षिक सधारणसभाको अवसरमा श्रेष्ठलाई सम्मानीत गरेको हो । श्रेष्ठ नेपाल सरकारका सेवानिबृत्त कर्मचारी हुन् ।चौघडा बचतका अध्यक्ष बिजयकुमार श्रेष्ठले दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो उपहार प्रदान गरेका थिए । २०८० जेठ २१ गते श्रेष्ठसहित ५ जनाको टोलीले सोलुखुम्बुको मेरापिक सफल आरोहण गरेका थिए । श्रेष्ठसँग कैलाश गाउँपालिका मकवानपुरका युवा सुरेन्द्र भण्डारी पनि साथमा थिए । भण्डारी कामना सेवा विकास बैंकको सुदुरपश्चिम प्रदेश ईन्चार्जको रुपमा कार्यरत छन् ।

हेटौंडाबाट हिडेको ५ औं दिनमा मेरापिक सफल आरोहण गरिएको श्रेष्ठले बताए । १० दिनमा घर फर्केको टोलीमा चितवनका एक जना काठमाडौंका २ जना र मकवानपुरका २ जना सहभागी
थिए । बिना अक्सिजन ६४७४ मिटर अग्लो हिमाल आरोहण गर्ने त्यो पनि ६४ वर्षको उमेरमा यो सामान्य कुरा थिएन । सामान्यतया ४५०० मिटर भन्दा माथि अक्सिजनको मात्र ज्यादै कम हुने भएकोले पदयात्रा कठिन हुने गर्दछ । बिना अक्सिजन ५००० मिटर भनदा माथि जान युवालाई पनि समस्या हुने गर्दछ । तर, श्रेष्ठले ६४ वर्षको उमेरमा सफल आरोहण गरेका थिए ।२५ वर्षअघि मेची–महाकाली साइकल यात्रा गर्ने हेटौंडाका ११ जनाको टोलीमा श्रेष्ठ पनि सहभागी भएको थिए । त्यस्तै गतवर्ष तिब्बतको सीमानाका रसुवागढीदेखि भारतको सीमानाका ठोरीसम्म साइकलयात्रा गर्ने १० जनाको टोलीमा पनि श्रेष्ठको सहभागिता रहेको थियो ।

बिशेषगरी नेपालको प्रायः सबै पदमार्गमा पदयात्रा गरिसकेका श्रेष्ठ कुशल नेतृत्वकर्ता पनि हुन् । थोराङ्ला पास, लार्केपास, खुम्बु, केन्जीन भ्याली, मनास्लु पदमार्ग, पाँचपोखरी सर्किट, खप्तड, बडिमालीका, टीएमजे जस्ता नेपालका परिचित पदमार्गमा उनले पदयात्रा गरिसकेका छन् । ठोरी पदमार्गका लागि संसारकै आकर्षक गन्तव्यको सूचीमा रहेको सोलुखुम्बुको मेरापिक आरोहण गर्न नेपाली पदयात्री पनि प्रशस्तै जाने गरेका छन् । मेरापिक हिमाल क्षेत्रलाई समेटेर सरकारले मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको छ ।स्थानीयको माग अनुसार सरकारले मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्न लागेको बताइएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*