जुनियर रेडक्रस गोष्ठी, १३ बुँदे घोषणापत्र जारी
हेटौंडा-३५ औं जिल्ला जुनियर तथा युवा रेडक्रस गोष्ठी शनिबार सकिएको छ । गत शुक्रबारसुरु भएको नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाको व्यवस्थापन तथा युवा रेडक्रस सर्कल बालबोध मावि हटियाको आतिथ्यतामा आयोजित गोष्ठी १३ बुँदे बालबोध घोषणापत्र जारी गर्दै सकिएको हो ।गोष्ठीमा जुनियर युवा सर्कलको गरेको बार्षिक कार्यक्रमको समीक्षा गरी २०८०÷८१ को बार्षिक कार्ययोजना निर्माण, हाजिरीजवाफ प्रतियोगिता, रेडक्रसका अधारभूत ७ सिद्धान्तको नाटक प्रदर्शन गर्दै नेतृत्व विकास, रेडक्रस अभियान, डेंगू सचेतना र बिपद् ब्यबस्थापनको कार्यशालाको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालले जानकारी दिए ।
गोष्ठीमा मकवानपुर जिल्लाका एक सय सामुदायिक तथा संस्थागत विद्यालय एवं समुदायस्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकलगायत ३ सय ५० जनाको उपस्थिति रहेको थियो । गोष्ठीले ३६ औ जिल्ला जुनियरर युवा रेडक्रस गोष्ठी भुटनदेबी माविको आतिथ्यमा २०८१ साल मंसिर महिनामा आयोजना गर्ने निर्णय गरेको छ । ३६ औं गोष्ठीको लागि भुटनदेवी मावि शिक्षकनायक षडानन्द चौलागाईंलाई रेडक्रसको झन्डा हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा भएको जुनियर रेडक्रस गोष्ठी उपमन्त्री तथा जिल्ला जुनियरर युवा समितिका संयोजक दाहालको अध्यक्षतामा भएको थियो । शुक्रबार गोष्ठीको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्ष भोला रुपाखेती, मकवानपुर शाखाका मन्त्री शुमित्रा काफ्ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्य कृष्ण सापकोटा, पूर्वउपसभापति उमेश बास्कोटा, पूर्वमन्त्री पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध माविका प्रअ दीपकलाल श्रेष्ठ, उपशाखा सचिव मोहनचन्द्र चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।







