बागमती प्रदेशसभा बैठकः मूल्यवृद्धिविरुद्ध सांसदको एकैस्वर

साझाकुरा
२०८० आश्विन १५, सोमबार ०९:०४

हेटौंडा- बागमती प्रदेशसभाको आइतबार बसेको बैठकमा सांसदहरुले पछिल्लो समय भएको मूल्यवृद्धिको विरोध जनाएका छन् । आइतबार बसेको बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै सांसदहरुले बढ्दो मूल्यवृद्धिका विषयमा विरोध जनाएका हुन् ।प्रदेशसभा बैठकको शून्य समयमा १५ जना सांसदले आफ्नो धारणा राखेका थिए । शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारले मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन नसकेको बताएका थिए । बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमालेका सांसद केशवप्रसाद पोखरेलले जनता महंगीको फन्दामा परेको समयमा सरकार भने आफ्नै धन्दामा व्यस्त रहेको आरोप लगाए । उनले पछिल्लो समय सरकारविरुद्ध चरम आन्दोलन भईरहेको बेलामा सरकार बैदेशिक भ्रमणमा व्यस्त रहेको आरोप लगाए ।

‘सरकार जम्बो टोली सहित भ्रमणमा व्यस्त छ । सरकारको विदेश भ्रमणको खर्च सार्वजनिक गर्न म जोडदार माग गर्दछु,’ पोखरेलले भने, ‘शिक्षक आन्दोलमा, डाक्टर आन्दोलनमा,व्यवसायीआन्दोलनमा छन्, सरकार कानमा तेल हालेर बसेको अवस्था छ । सरणार्थी काण्ड गाएब, ललिता निवास काण्ड गाएब, सुनकाण्ड गाएब यो सरकार जनतामारा सरकार हो ।’ सांसद पोखरेलले सरकारले वार्ताबाहेक केही गर्न नसकेको आरोप समेत लगाए । त्यसैगरी राप्रपाकी सांसद आशा लामाले जनता दैनिक जीवनयापनको लागि समस्या भोगिरहेको समयमा सरकारले चाडपर्वको मुुखमै मूल्यवृद्धि उपहार दिएको बताइन् । सरकारले राहत दिनुपर्ने समयमा उल्टै कानमा तेल हालेर बसेको उनले भन्दै जिम्मेवार बन्न आग्रह गरिन् । त्यस्तै राप्रपा वागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले यो सरकार असफल सरकार भइसकेको दावी गरेका छन् ।

उनले देश लथालिंग भएको अवस्थामा राष्ट्रपतिले ज्यानमारालाई छुट दिइरहेको भन्दै आक्रोश पोखे । उनले अहिले संघीय सरकार र प्रदेश सरकारको आमजनताले राजीनामा माग गरेको समेत दावी गरे ।
त्यसैगरी एमाले सांसद एकलाल श्रेष्ठले संघमा सुन तस्करी काण्डको उच्चस्तीय छानबीन समिति बनाउने कुरा चलिरहेको बेलामा प्रदेश सरकारको मन्त्रीको पनि नाम मुछिएको भन्दै सरकारको जवाफ माग गरे । प्रहरीले विशेष सूचनाका आधारमा मलद्धारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको एककिलो सुन सहित काभ्रेका बाबुलाल दोङलाई प्रक्राउ गरेको थियो । सो प्रकरणमा प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको नाम सुन प्रकरणमा संलग्न भएकोमा सांसद समक्ष उनले जवाफ दिनुपर्ने माग गरे । सांसद श्रेष्ठले वागमती प्रदेशको समितिको सभापतिको चयनमा ढिलाई भएको भन्दै तत्काल समितिको सभापति प्रकृया अगाडि बढाउन माग गरे ।

नेकपा एकीकृत समाजवादीका सांसद वसन्त मानन्धरले पछिल्लो समयमा भएका सबै प्रकारका मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरे । नेमकिपाका सांसद सुरन्द्रराज गोसाईंले सरकारका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बनेको बताए । शिक्षकलाई आन्दोलनमा उत्रिन बाध्य पार्ने सरकारको काम गलत भएको उनको भनाइ छ । उनले गुणस्तरीय, व्यावहारिक र उन्नत शिक्षाको लागि प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा राखे । बैठकमा एकीकृत समाजवादी पार्टीकी सांसद ओमकुमारी श्रेष्ठले चिकित्सकमाथि भइरहेको सांघातिक आक्रमणको विरोध गरिन् । बैठकमा सांसदहरु गीता काफ्ले, भारती पाठक, लक्ष्मी घिमिरे, शकुन्तलादेवी श्रेष्ठ, ठुला थामी, रामकुमार पहाडी, शान्ता ढकाललगायतले धारणा राखेका थिए ।

बैठकमा प्रदेश सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री बहादुरसिंह लामाले सरकार हराएको भन्ने कुरा सत्य नभएको दाबी गरे । अर्थमन्त्री लामाले सरकारले विपद्को समयमा धेरै कामहरु गर्नुपरेको हुँदा प्रदेशसभाको बैठक बस्न ढिलाई भएको बताए । उनले बैठकमा नुनदेखि सुनसम्मको कुरा उठेको भन्दै आधारविनाको कुरा नउठाउन सांसदहरुलाई आग्रह गरे । अर्थमन्त्री लामाले प्रदेश सरकारले कुनैपनि निर्माण व्यवसायीको भुक्तानी बाँकी नराखी भुक्तानी गरेको समेत बताए । ‘चाडपर्वको समयमा मूल्यवृृद्धिको कुरा उठेको छ । हामी यस विषयमा गम्भीर भएर छलफलमै छौं ,’ अर्थमन्त्री लामाले भने, ‘मूल्यवृद्धिको विषयमा हामी प्रतिपक्षीलाई पनि समेटेर समिति नै बनाएर अगाडि बढ्ने प्रतिवद्धता गर्छौ ।’ अर्थमन्त्री लामाले सरकार राजश्व वृृद्धि गर्न लागेको समेत बताए ।

त्यसैगरी सुनकाण्डमा मुछिएका खानेपानी मन्त्री तीर्थबहादुर लामाले प्रमाणविना नबोल्न सांसदहरुलाई चेतावनी दिएका छन् । प्रदेशसभाको बैठकमा आफ्नो नाम सुन काण्डमा मुछिएपछि जवाफ दिदै मन्त्री लामाले सम्बन्धित अनुसन्धान गर्ने निकायले आफ्नो कुनै संलग्नता नरहेको भनेपनि केही व्यक्तिहरु मिलेर फसाउन खोजेको आरोप लगाए । उनले आफू सुनकाण्डमा मुछिएको प्रमाण भेटे राजनीतिमै नफर्किने समेत घाषणा गरे । बैठकमा प्रदेश कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*