कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

‘कैलाश बन्दैछ, बा–आमालाई सन्चै छ’ अभियान
साझाकुरा
२०८३ असार ११, बिहीबार ०९:५३

हेटौंड-मकवानपुरको विकट कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रमसहित ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।बुधबार गाउँपालिकाको १८ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । उनकाअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ८९ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १९ करोड २५ लाख रुपैयाँ, राजस्व बाँडफाँटतर्फ १० करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ २ करोड ५९ लाख रुपैयाँ र विशेष अनुदानतर्फ १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसरी संघीय सरकारबाट कुल ४२ करोड ७६ लाख ९१ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ८१ लाख ९८ हजार रुपैयाँ, सशर्त अनुदान १ करोड ३२ लाख ७९ हजार रुपैयाँ, राजस्व बाँडफाँट ३ करोड ८२ लाख ४४ हजार ९१० रुपैयाँ, समपूरक अनुदान २ करोड ८० लाख रुपैयाँ तथा विशेष अनुदान ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारबाट कुल ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ आय हुने अपेक्षा गरिएको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट विभिन्न शीर्षकमा ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । खर्चतर्फ आर्थिक विकास क्षेत्रमा २ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७५ लाख ५४ हजार रुपैयाँ छुट्याइएको छ । पूर्वाधार विकासतर्फ १५ करोड ७० लाख रुपैयाँ, सामाजिक विकासतर्फ २४ करोड ८९ लाख १५ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४३ लाख रुपैयाँ तथा प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष मल्लले जानकारी दिए ।

अन्तिम वर्षमा उपलब्धि संस्थागत गर्ने गाउ“पालिकाको लक्ष्यत्यसअघि सभामा पालिका अध्यक्ष लोकबहादुर मुक्तानले पूर्वाधार विकास, कृषिउत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, रोजगार र सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिकगरेका थिए । जनप्रतिनिधिको कार्यकालको अन्तिम वर्षलाई उपलब्धि संस्थागत गर्ने, अधुरा योजना सम्पन्न गर्ने तथा दीगो विकासको आधार तयार गर्ने वर्षकारुपमा अगाडि बढाइने उनले बताए ।

गाउँपालिकाले विगत चारवर्षमा सडक पूर्वाधार विस्तार, विद्युत् तथा फाइबर इन्टरनेट पहुँच, वीपी स्मृति कैलाश आधारभूत अस्पताल स्थापना, डिजिटल सेवाप्रवाह तथा शिक्षा र सामाजिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै आगामी वर्ष ती उपलब्धिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ । नीति तथा कार्यक्रममा गाउँपालिकाको लाइफलाइन सडक ‘चुनियाँ–नामटार–कालिकाटार–भार्ता’ सडकसहित विभिन्न गौरवका बहुवर्षीय सडक आयोजनालाई उच्चप्राथमिकता दिइएको छ ।

गैरीगाउँ–गोगने–पकनी–डाँडाखर्क–बैकुण्ठ सडक, गोगने–कालिकाटार सडक, भार्ता–सानुडाँडाखर्क–कैलाश–वैकुण्ठ सडक, लिक्चे–ध्याङसिंटार–नेवारपानी सडक र पकनी–कप्सेरी–भार्ता सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने भएको छ । वातावरणीय अध्ययन र आवश्यक तयारीबिना नयाँ सडक ट्रयाक नखोल्ने ‘जिरो न्यू ट्रयाक’ नीति लागू गर्दै विद्यमान सडकको स्तरोन्नति र नियमित मर्मतसम्भारमा जोड दिइने भएको छ ।

भवन निर्माण तथा बस्ती विकासलाई व्यवस्थित बनाउन राष्ट्रिय भवन संहिता अनुसार भूकम्पप्रतिरोधी भवन निर्माणलाई प्रोत्साहन गरिनेछ । सबै वडामा नक्सा पास प्रणालीलाई थप प्रभावकारी बनाइने तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना भएका घरलाई जस्ता पाताको छानामा रुपान्तरण गरिने नीति लिइएको छ । रोजगार तथा उद्यमशीलता विकासका लागि राष्ट्रिय रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउँदै सूचीकृत बेरोजगार नागरिकलाई न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, पूँजी र अनुभवलाई स्थानीय उद्यममा उपयोग गर्न ५० प्रतिशत अनुदानसहितको रिटर्नी उद्यमशीलता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा ‘एकघर, एकधारा’ अभियानअन्तर्गत निर्माणाधीन आयोजना सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिनेछ । खानेपानीको गुणस्तर परीक्षणलाई नियमित बनाइने, खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डलाई सक्रिय बनाइने तथा पूर्णसरसफाइउन्मुख पालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । वातावरणसंरक्षणका लागि मुहान संरक्षण तथा वृक्षरोपण अभियानलाई निरन्तरता दिइने भएको छ ।

कृषिक्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यकासाथ बाँझो जमिन उपयोग, चक्लाबन्दी तथा करार खेती विस्तार, रैथानेबाली संरक्षण, तरकारी पकेटक्षेत्र विकास तथा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिनेछ । ‘जसले गर्छ उत्पादन, उसले पाउँछ अनुदान’ अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ । कृषकलाई उन्नत बीउबिजन, कृषिप्रविधि, माटोपरीक्षण तथा बालीसंरक्षण सेवामा पहुँच विस्तार गरिने गाउँपालिकाले जनाएको छ । पर्यटन विकासका लागि ‘समृद्ध कैलाश’ रेडियो कार्यक्रम सञ्चालन, डिजिटल प्रोफाइल निर्माण, पर्यटकीय स्थलमा सूचना पाटी तथा नक्सा स्थापना गरिने छ । बैकुण्ठक्षेत्रको पर्यटन पूर्वाधार विस्तार, जिपलाइन सञ्चालन तथा होमस्टे सेवालाई
थप गुणस्तरीय र व्यवसायिक बनाउने नीति कार्यक्रममा समावेश गरिएको छ ।

शिक्षा क्षेत्रतर्फ विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन विशेष अभियान सञ्चालन गरिनेछ ।
विद्यालयको आवश्यकता अनुसार पुनर्संरचना, प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवासुविधा सुधार, छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाउने तथा शिक्षक अभाव भएका विद्यालयमा शिक्षक बैंक स्थापना गरी स्वयंसेवक शिक्षक परिचालन गरिने नीति लिइएको छ । माध्यमिक शिक्षा परीक्षा सुधारका लागि प्रिटेस्ट, निःशुल्क खानाखाजा र बसोबास व्यवस्थापनलाई निरन्तरता दिइने भएको छ ।

स्वास्थ्यक्षेत्रमा वीपी स्मृति कैलाश आधारभूत अस्पताललाई थप सुदृढ बनाइने, आवश्यक जनशक्ति, उपकरण तथा औषधिको व्यवस्था गरिने छ ।
‘कैलाश बन्दैछ, बा–आमालाई सन्चै छ’ अभियानमार्फत् नसर्ने रोगको पहिचान र नियन्त्रणका लागि टोलस्तरीय स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । ‘जिरो होम डेलिभरी’ नीति लागूगर्दै गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य जाँच, एम्बुलेन्स सेवा, पोषण सामग्री तथा स्वास्थ्य परामर्श उपलब्ध गराइ संस्थागत प्रसूतिलाई प्रोत्साहन गरिने भएको छ । सामाजिक विकासतर्फ किशोर–किशोरी संवाद, बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण, विपन्न नागरिकलाई स्वरोजगारसँग जोड्ने कार्यक्रम तथा ‘छोरी प्रोत्साहन कार्यक्रम’लाई थप प्रभावकारी बनाइने छ ।

सुशासन र सेवाप्रवाह सुधारका लागि डिजिटल नागरिक वडापत्र, गुनासो सुनुवाइ प्रणाली, निःशुल्क इन्टरनेट सेवा विस्तार, करसम्बन्धी आधारभूत सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने व्यवस्था तथा ‘शून्य बेरुजुउन्मुख कैलाश’ अभियान सञ्चालन गरिने नीति पनि कार्यक्रममा समेटिएको छ । कर्मचारीको क्षमता विकास, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था तथा प्रविधिमैत्री कर प्रशासनमार्फत् आन्तरिक राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

१० चेली सम्मानित

गाउँपालिकाले १८ औँ गाउँसभामा १० जना चेलीलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेमा वडा २ को मुना चेपाङ, वडा ४ को शान्तिमाया मुक्तान, वडा ६ का सावित्री अधिकारी, वडा ९ का संगीता गलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा, वडा १० का फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तानरहेका छन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रममै राखेर कक्षा १२ उर्तीण गरी २० वर्ष पूराभई विवाह गर्ने चेलीलाई गाउँसभामा प्रोत्साहनस्वरुप सम्मान गर्ने गरिएको अध्यक्ष मुक्तानले बताए । नीति तथा कार्यक्रममा बालविवाहका कारण किशोरीको शिक्षा, स्वास्थ्य तथा भविष्यमानकारात्मक असर पर्ने भएकाले यसको न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना पुग्ने हिसाबले नीति तथा कार्यक्रममा समेट्दै चेलीलाई सम्मान गरिएको उनले बताए । सभामा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*