भीमफेदी गाउँपालिकाको बजेट ८३ करोड
हेटौंडा-भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ८३ करोड १ लाख ६२ हजार ३ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष सञ्जीव श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् । बजेटले पर्यटन, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकताका क्षेत्रका रुपमा अघि सारेको छ । गाउँपालिकाले प्राकृतिक स्रोतको संरक्षण, आधुनिक कृषिप्रणालीको विकास, पर्यापर्यटन प्रवद्र्धन तथा दिगो पूर्वाधार निर्माण मार्फत् आत्मनिर्भर र समृद्ध पालिका निर्माण गर्ने लक्ष्य लिएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेका अनुसार बजेटको मुख्य स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँट, रोयल्टी तथा आन्तरिक आम्दानी रहेका छन् ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ६३ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २३ करोड ५५ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ २ करोड ७ लाख रुपैयाँ तथा राजस्व बाँडफाँटतर्फ १० करोड २६ लाख ५३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ५० लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २ करोड ८७ लाख ५१ हजार रुपैयाँ, समपूरक अनुदानतर्फ २ करोड ४० लाख रुपैयाँ तथा विशेष अनुदानतर्फ ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । सवारीसाधन करतर्फ ४ करोड २३ लाख १७ हजार ३ सय रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
गाउँपालिकाले सेवाशुल्क, कर तथा अन्य आन्तरिक स्रोतबाट करिब ५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । बजेट निर्माणका क्रममा चालु आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षका लागि उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । कृषिक्षेत्रको आधुनिकीकरणलाई विशेष महत्व दिँदै कोदोखेती विस्तार कार्यक्रमलाई निरन्तरता दिइएको छ । गत आर्थिक वर्षमा सञ्चालन गरिएको कार्यक्रमबाट सयौँ कृषक परिवार लाभान्वित भएको उल्लेख गर्दै आगामी वर्ष पनि यसको दायरा विस्तार गरिने भएको छ । कृषिउत्पादन वृद्धि गर्न ४८ वटा धान मिल वितरण गर्ने, २३ वटा आधुनिक ट्रेसलिङ मेसिन तथा ३५० कृषकलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गर्ने योजना समेटिएको छ ।
पूर्वाधार विकासतर्फ काँटी–ठाडोमहभीर–फापरबारी सडक स्तरोन्नति, विभिन्न ग्रामीण सडकको ट्रयाक खोल्ने तथा स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ । यातायात पहुँच विस्तार गरी आर्थिक गतिविधि बढाउने उद्देश्यले सडक पूर्वाधारमा उल्लेख्य बजेट विनियोजन गरिएको छ । पर्यटन प्रवद्र्धनतर्फ लटारम्मेश्वर महादेव मन्दिर क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने योजना अघि सारिएको छ । हावाभञ्ज्याङदेखि लटारम्मेश्वरसम्म पदमार्ग निर्माणको काम सुरु भइसकेको र आगामी वर्ष थप पूर्वाधार निर्माण गरी व्यवस्थित पर्यटकीय केन्द्रकारुपमा विकासगरिने जनाइएको छ ।







