सान्नानीटारमा ट्रकले म्याजिकलाई ठक्कर दिँदा ३ जना गम्भीर
हेटौंडा उपमहानगरपालिका–१९ सान्नानीटारस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको म्याजिकलाई ट्रकले ठक्कर दिँदा ९ जना घाइते भएका छन् ।बुधबार दिउँसो १२ बजेर १५ मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिक सडक किनारमा यात्रु चढाउने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ९६८४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जानकारी दिएको छ । ट्रकको ठक्करबाट म्याजिकमा सवार ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
म्याजिकलाई ठक्कर दिएर फरार भएका ट्रकचालक पक्राउ परेका छन् । दुर्घटनालगत्तै फरार रहेका चालक घादिङ जिल्लाको धादिङबेसी–९ का २९ बर्र्षीय विराज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सवारी दुर्घटना भएको २ घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको हो । डिएसपी भण्डारीकाअनुसार हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ बस्ने ३६ बर्षीया बिमल पुलामीमगर, हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी बस्ने लोकबहादुर मोक्तानकी छोरी २ बर्षीया कुश्मि मोक्तान र नेवारपानीकै ५६ बर्षीया ठुलिमाया बम्जन गम्भीर घाइते भएको प्रवक्ता भण्डारीले बताए ।
यसैगरी, म्याजिक चालक मनहरी गाउँपालिका–९ खरंगा बस्ने ४३ बर्षीय अम्बरसिंह डांगी, राक्सिराङ गाउँपालिका–२ बस्ने २१ बर्षीया रीता रानामगर, हेटौंडा–१९ नेवारपानी बस्ने ३५ वर्षीय होईसेल लामा, सोही स्थानका ३३ बर्षीय लोकबहादुर मोक्तान, ५६ बर्षीया लालकुमारी स्याङतान र ३० बर्षीया कबिता नेगी घाइते भएका छन् । उनीहरुको टाउको, हातखुट्टा, पेट, मुख, छाती, ढाडलगायतका
शरीरका अंगमा चोट लागेको प्रवक्ता भण्डारीले बताए ।
घाइतेमध्ये म्याजिक चालक मनहरी गाउँपालिका–९ खरंगा बस्ने ४३ बर्षीय डागी उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी घाइते ८ जनालाई हेटौंडाका अस्पतालमा उपचार सम्भव नभएपछि चितवन रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार रिफर गरिएकामध्ये थानाभ¥याङ बस्ने बिमल पुलामीमगर, नेवारपानी बस्ने लोकबहादुर मोक्तानकी छोरी २ बर्षीया कुश्मि र नेवारपानीकै ५६ वर्षीया ठुलिमाया बम्जनको अवस्था गम्भीर रहेको छ । यसैगरी, राक्सिराङ बस्ने रीता रानामगर, नेवारपानी बस्ने होईसेल लामा, सोही स्थानका लोकबहादुर मोक्तान, लालकुमारी स्याङतान र कबिता नेगीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।







