बागमती प्रदेशसभा बैठक स्थगित

साझाकुरा
२०८० आश्विन १८, बिहीबार ०९:२३

हेटौंडा- बागमती प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । बुधबार अपरान्ह ४ बजे बसेको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । पटकपटक अवरुद्ध बन्दै आएको प्रदेशसभा बैठक बुधबार भने सञ्चालन भएको थियो ।प्रदेशसभाको बैठकमा एउटा विवादित विधेयक पेश गर्ने तयारी भएपछि सोमबारदेखि सदन चल्न सकेको थिएन । सोमबार बसेको बैठकमा सरकारका तर्फबाट प्रदेशप्रमुख कार्यालयबाट पुनः विचारका लागि फिर्ता भएको विवादित चिठ्ठा विधेयक सदनमा पेश गर्ने तयारी भएको थियो । विधेयक पेश गर्ने तयारी भएसँगै प्रमुखप्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध जनाउँदै बैठक सञ्चालनमाअवरोध गरेका थिए ।

एमालेको अवरोधका कारण सोमबार र मंगलबार बैठक संचालन हुन सकेन भने बुधबार प्रदेशसभा सचिवालयले चिठ्ठा विधेयक कार्यसूचीबाट हटाएसँगै बैठक संचालन भएको थियो । बुधबारको बैठकमा गत असोज १४ गते सदनमा पेश भएको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत गरिएको छ ।बैठकमा प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलमा लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरिएको छ । सदनमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको यो विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेश गरेका थिए । उनले निर्णयार्थ पेश गरेको प्रस्तावलाई उद्योग पर्यटन तथा वातावरण समितिमा दवावार छलफलका लागि सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।

विद्येयकमाथि उद्योग पर्यटन तथा वातावरण समितिमा छलफल तथा संशोधनसहित पारित गरी प्रतिवेदन सहित पुनः सदनमा पेश गरिने छ । ५ मिनेट बसेर बुधबारको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । प्रदेशसभामा विजनेश नभएकाले संसद्बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयले जनाएको छ । गत असोज १४ गतेदेखि संचालन भएको प्रदेशसभामा शुन्य समय, मुख्यमन्त्रीसंगको प्रश्नोत्तर र एउटा विधेयकमाथि सैद्धान्तिक छलफलसहित समितिमा पठाउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*