‘त्रिशुलीमा हामफाले’का देवकोटाको खोजी जारी
हेटौंडा- तत्कालीन मेघा बैंक हेटौंडा शाखाप्रमुख नीराजन देवकोटा (नीरञ्जन) सोमबार साँझ धादिङ त्रिशुली नदीमा हामफालेर वेपत्ता भएपछि उनको खोजी जारी छ ।वर्षापछिको त्रिशुलीको भेलमा हामफालेका नीरञ्जनको सुरक्षानिकायले खोजी तीव्र बनाएको हो । तर, त्रिशुलीमा भेल आएकाले खोजी कार्यमा कठिनाई भएको जनाइएको छ । हालसम्म उनको शव भने फेला परेको छैन ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले दबाब दिएपछि मानसिक तनाव सहन नसकेर उनले नदीमा हामफालेको हुनसक्नेपारिवारिक स्रोतले जनाएको छ । सोमबार बैंकको केन्द्रीय कार्यालयमा हाकिमहरुले टर्चर दिएपछि घर फर्कँदै गरेका देवकोटाले नदीमा हामफालेको बुझिएको छ । देवकोटा सोमबार साँझ धादिङको गजुरी गाउँपालिका–५ घाटवेसीस्थित नयाँपुल नजिकै मोटरसाइकल रोकेर जुत्तासमेत खोलेर त्रिशुली नदीमा हामफालेको प्रहरीले जनाएको छ ।
धादिङका प्रहरीप्रमुख गौतम मिश्रले सोमबार साँझै नै माछामार्ने व्यक्तिले हामफालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी पुग्दा बा.प्र ०३–००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला परेको बताए । प्रहरीले हालसम्म पनि देवकोटाको जीवित वा मृत शरीर भेट्टाउन नसकिएको र खोजीकार्य जारी रहेको बताएको छ । मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटालाई मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्काे पेलाईको कारण राजिनामा दिएका थिए । मर्जरपछि राजिनामा दिइसकेका उनलाई नउठेका ऋणको छानवीन गर्न भन्दै पटकपटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक तनाव दिइँदै आएको रहस्य बाहिरिएको छ ।
स्रोतका अनुसार नदीमा हामफालेका देवकोटाले सुसाइड नोट समेत लेखेको र सुसाइड नोटमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओसहितका व्यक्तिहरुको गालीगलौज र दवावका मुख्य कारण खुलाएको जनाइएको छ । यद्यपि सुसाइड नोटबारे पुष्टि हुन बाँकी छ । घटनाको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओसँग जिज्ञाशा राख्दा जवाफ दिन चाहेनन् ।







