किशोरीको हत्यामा हेटौंडाका युवकसहित चारजना पक्राउ
हेटौंडा- धारिलो हतियार चक्कु प्रहार गरी किशोरीको हत्या गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट हेटौंडाका एक युवकसहित चारजनालाई पक्राउ गरेको छ । ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्र्षीया किशोरी सनि कार्र्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौंडाका एक किशोरसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्र्षीया सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका–१९ एकान्तकुना बस्ने २२ वर्र्षीय सन्देश खड्गी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–२४ बस्ने १९ वर्र्षीय भूमी मल्ल र ललितपुर गोदावरी नगरपालिका–५ घर भई हाल ललितपुर नागबहल बस्ने १९ वर्र्षीय अरबिन ठकुरी रहेका छन् ।
प्रहरीका अनुसार, गत सोमबार राति काठमाडौं महानगरपालिका–२४ हनुमानढोका परिसर अगाडि सनि कार्र्कीमाथि धारिलो हतियार प्रहारबाट भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्र्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौं महानगरपालिका–२४ मखनबाट, भूमि मल्ललाई काठमाडौं क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका–१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीवृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।







