बागमतीमा पाँच वर्षसम्म बनेन शीत भण्डार, बनेका पनि प्रयोगविहीन

साझाकुरा
२०८० आश्विन १९, शुक्रबार ०९:४५

हेटौंडा- बगमती प्रदेशका जिल्लाहरुमा विगत पाँच वर्षदेखि निर्माण सुरु गरिएको शितभण्डार अझै पूरा भएका छैनन् ।आर्थिक वर्ष २०७५÷७६ बाट प्रदेश सरकारले बनाउन सुरु गरेको शितभण्डार कति अधुरै, कति बनेर पनि प्रयोगविहीन अवस्थाबाट गुज्रिएका छन् । निर्माण भइसकेका शितभण्डार प्रदेश सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी हुँदा सञ्चालनमा आउन नसकेको हो । प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (हालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय)ले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकलाई लक्षित गरी शीत भण्डार निर्माणको काम सुरु गरेको थियो ।

निर्माण भएकामध्ये एउटा मात्रै शितभण्डार सञ्चालनमा आएको हो । हालसम्म रसुवाको धैबुङ गाउँपालिकाको भण्डार मात्र सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लागतमा प्रदेशमा १० भण्डार निर्माण सुरु गरेको थियो । गत आर्थिक वर्ष २०७९÷०८० मा मात्र मन्त्रालयले ६३ करोड ९८ लाख २५ हजार रुपैयाँ निर्माण कम्पनीलाई भुक्तान गरिसकेको छ । मन्त्रालयले स्थानीय सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा शीत भण्डार निर्माण अघि बढाएको थियो ।

प्रदेश सरकार स्थापना भएसँगै पहिलो बजेटमै यो कार्यक्रम समावेश गरेर २०७५ सालमा भण्डार निर्माणका लागि डीपीआर तयार पारेर ठेक्का आह्वान गरिएको थियो । ठेक्का आह्वान गरेको करिब ६ महिनापछि प्रदेश सरकारले भण्डार निर्माणको शिलान्यास गरेको थियो । प्रदेश सरकारले अधिकांश भण्डारको निर्माणका लागि दुई वर्षको समयसीमा दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १० भण्डार २०७८ सालमै सम्पन्न भई हस्तान्तरण भइसक्नुपर्ने हो । तर, ती भण्डारको भौतिक संरचनाको निर्माणको काम अझै बाँकी रहेको पाइएको छ ।

प्रदेश सरकारले सहकारी निजी सहकार्यमा कुल लागतको निश्चित प्रतिशत रकम व्यहोर्ने गरी भण्डार निर्माणको सम्झौता गरेको हो । मन्त्रालय र साझेदार संस्थाको सहकार्यमा निश्चित रकम साझेदार संस्थाले व्यहोर्ने गरी संयुक्त लगानीमा भण्डार निर्माण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बताए ।रसुवाको धैबुङ गाउँपालिका–५, दोलखाको जिरी नगरपालिका–५, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ र इन्द्रावती गाउँपालिका–७, रामेछापको मन्थली नगरपालिका–१, सिन्धुलीको सुनकोसी गाउँपालिका–५, दोलखाको भीमेश्वर–८, काभ्रेको बनेपा नगरपालिका–७, चितवनको खैरहनी नगरपालिका–६, धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१० मा भण्डार निर्माण सुरु गरेको थियो ।

कतिपय शीत भण्डार निर्माण योजना पूरा भए पनि स्थानीय सरकारलाई हस्तान्तरण हुन सकेका छैनन् । धैबुङ गाउँपालिकाको भण्डार निर्माणका लागि मन्त्रालय र सानाकिसान कृषि सहकारी संस्थासँगको साझेदारीमा तीन सय टन क्षमताको भण्डार ३ करोड ७० लाख ३५ हजार रुपैयाँ लागतमा बनेको हो । यसैगरी, जिरी नगरपालिका, लिसंखुपाखर गाउँपालिका, मन्थली नगरपालिका, सुनकोसी गाउँपालिकामा गत वर्ष नै निर्माण पूरा भएका छन् ।

दोलखामा निर्माणाधीन भण्डार हाइटेन्सन लाइनको तल परेपछि र काभ्रेमा साझेदारी संस्थाले निर्माणस्थल उपलब्ध गराउन नसकेपछि निर्माण स्थगित गर्नु परेको मन्त्रालयकी अधिकृत कामना न्यौपानेले जानकारी दिइन् । चितवन र धादिङमा निर्माणाधीन भण्डार निर्माण पूरा भए पनि हालसम्म पनि टीओडी मिटर जडान हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । नुवाकोटमा निर्माणाधीन दुई भण्डारको भने हालसम्म भौतिक प्रगति ६० प्रतिशतमात्रै रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*