जनताको गुनासो सुन्न आएका माधव नेपालले भाषण सुनाएर हिँडे

हेटौंडामा नेकपा एसको जनसभा
साझाकुरा
२०८० आश्विन २०, शनिबार ०८:१२

हेटौंडा- नेकपा (एकीकृत समाजवादी)ले हेटौंडाको सीमाचोकमा जागरण अभियान २०८० मेची–महाकाली यात्राअन्तर्गत् जनसभा आयोजना गरेको थियो ।जनसभा आयोजना गर्नुको कारणबारे पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भाषणको सुरुवातमै भनेका थिए, ‘हामी यहाँ आएको जनताको गुनासो के–कस्ता छन् सुन्नलाई हो । जनताको कुरा सुनेर राज्यको निकायसम्म पु¥याउँछौं ।’, माधव नेपालले कार्यक्रमको उद्देश्यबारे बोल्दा जनसभामा पार्टी नेतृत्व र जनताबीच प्रत्यक्ष कुराकानी हुने अपेक्षा धेरैले गरेका थिए । तर, नेपालले कार्यक्रमको उद्देश्य मात्रै सुनाए, आफ्नो भाषण गरेर आफ्नो गन्तव्य (जागरण अभियान)मा लागे ।

नेपालले राजीनितिप्रति जनतामा बढिरहेको वितृष्णालाई हटाउन पार्टीले जागरण अभियान सञ्चालन गरेको प्रष्टिकरण दिए । तर, किन जनतामा दलदेखि वितृष्णा बढेको छ भनेर प्रत्यक्ष कुराकानी गरेनन् । पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, पूर्वमन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीलगायतका नेताहरुले सीमाचोकको जनसभा अघि शुक्रबार बिहान हेटौंडा–४, स्थित क्लब हेटौंडा पार्टी प्यालेसमा अगुवा कार्यकर्ता भेलामा सम्बोधन गरेका थिए । नेताहरुले पार्टीका कार्यकर्तालाई आफ्ना कुरा मात्रै सुनाए, कार्यकर्ताका कुरा भने सुनेनन् ।

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताको गुनासो प्रत्यक्ष सुन्ने र राज्यको निकायसम्म पु¥याएर समस्या समाधान गर्न जागरण अभियान चलाएको बताएका हुन् । तर, जागरण अभियान जनताको कुरा सुन्ने नभई आफ्ना कुरा सुनाएर मात्रै हिँड्ने दलहरुको परम्परागत शैलीमा नेकपा एस पनि लागेको देखिएको छ । नेकपा एस वैकल्पिक शक्ति भएको बताउने नेपालले पुरानै दलका शैली पछ्याउँदा जागरण अभियान प्रभावकारी बन्न सकेको देखिँदैन । नेपालले कानुन कार्यान्वयन, सुशासन कायम गराउन नेकपा एसले सरकारमा रहेर अहम भूमिका खेलेको पनि बताए । तर, आफैं सरकारमा हुँदा बाँकेको नेपालगञ्जमा दिउँसै खुँडा हानेर चेतन मानन्धरलाई हत्या गरेकारिगल भनिने योगराज ढकाललाई आमफामी दिएको बारे भने बोलेनन् ।

नेपालले देशमा भ्रष्टाचार जन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई वेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीमा हुर्किरहेको बताए । उनले मुलुकमा सुशासन कायम गर्दै समृद्धितर्फ अघि बढ्न जागरण अभियानले मद्दत गर्ने बताएका छन् । उनले राष्ट्रिय पुँजीको विकास गरी मुलुकमा कृषिजन्य उद्योगहरु खोल्न सके युवाहरुमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको समेत उल्लेख गरे । अभियानअन्तर्गत पार्टीले कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार तथा आर्थिक समृद्धिका विषयहरु नागरिक माझमा पु¥याएको अध्यक्ष नेपालले दाबी गरे । कृषि तथा पर्यटन क्षेत्रको विकासबाट नागरिकलाई समृद्धिमा जोड्ने प्रयत्न भइरहेको उनको भनाई छ ।

नेपालका अनुसार एकीकृत समाजवादीले कृषि क्षेत्रको विकास र विस्तारबाट अर्थतन्त्र मजवुद हुने नीति अवलम्बन गरेको बताए । ‘एकीकृत समाजवादीले आर्थिक समृद्धिको मूल आधार कृषिलाई लिएको छ । सोही अनुसार कृषि क्षेत्र र किसानहरुको समस्या समाधानमा पार्टीले पहल गरिरहेको छ । कृषि क्षेत्रको विकास र विस्तारबाट मात्र मुलुकको अर्थतन्त्र सुधार हुन सक्छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आत्मनिर्भर कृषि पेशा निर्माणमा जोड दिएका छौं । यसबाट आयातलाई निरुत्साहित गर्ने र निर्यात व्यापारलाई बढाउन सक्ने देखिन्छ । कृषि र पर्यटनमा नागरिकहरुको प्रत्यक्ष संलग्नताबाट समृद्धिमा पुग्ने प्रयत्न भएको छ ।’, उनले भने ।

उनले युवाहरुलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य लक्ष्य रहेको उल्लेख गरे । जनताको चाहना र भावनालाई सम्बोधन गरी सबैलाई साथमा लिएर एकताबद्ध बनाएर अगाडि बढ्दै जनतामा देशभक्तिको भावना जागृत गराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाका निम्ति लड्ने र संविधानलाई बलियो बनाउने आफ्नो पार्टीको रणनीति रहेको बताए । नेता नेपालले पार्टीका कार्यकर्तालाई जनताका घरघर गएर समस्या समाधानका लागि पहल गर्न निर्देशन दिए ।

सभामा सम्बोधन गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी पार्टीले आफ्नो औचित्य पुष्टिका लागि आमनागरिकसँग जोडिएर काम गर्नुपर्ने बताएका छन् । नागरिकको समस्या समाधान, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका काममा जोडिएर समृद्ध देश निर्माण गर्दै समाजवादी यात्रामा अघि बढ्नुपर्नेमा उनले जोड दिए । पाण्डेले समाजवादी जागरण अभियानलाई वडावडा तहमा पु¥याउनु पर्ने बताए । उनले अभियानलाई सहर केन्द्रित मात्र नभई गाउँ गाउँमा पु¥याएर अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव गंगालाल तुलाधार, सचिव रामकुमारी झाँक्री, स्थायी कमिटी सदस्य ललित बस्नेत, विरोध खतिवडा, बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, जिल्ला इन्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामा, जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*