बागमती प्रदेशका ३६० पत्रकारको दुर्घटना बीमा

साझाकुरा
२०८० आश्विन २१, आईतवार ०९:२०

हेटौंडा- सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश हेटौंडाले प्रदेशका ३ सय ६० जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ । नेपालका ५० प्रतिशत पत्रकार र ७० प्रतिशत सञ्चारमाध्यम बागमती प्रदेशमा रहेको तथ्यांक छ ।बीमा ऐन २०४९ को दफा ८ को उपदफा (घ) अनुसार र बीमा समितिले बनाएको दुर्घटना बीमा निर्देशिका २०७८ बमोजिम सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट परिचयपत्र प्राप्त गरी नवीकरण गरेका ३६० जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो । प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्मको सामूहिक दुर्घटना बीमा नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरिएको सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

पहिलो चरणको बीमा कार्यक्रम बीमा लागूभएको मितिले ३ सय ६५ दिन कायम रहने उनले बताए । सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर, नवीकरण गर्न बाँकी रहेका पत्रकारले आफ्नो परिचयपत्र नवीकरण गरी दोस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन सक्ने सञ्चार रजिष्ट्रार सापकोटाले बताए । दुर्घटनामा परी मृत्यु भएमा बीमामार्फत उपलब्ध गराइने रकमले शववाहनदेखि किरिया खर्चगर्न सक्ने उल्लेख छ । क्रियाशील भएर काम गर्ने पत्रकारको मनोबल बढाउन, उनीहरु सुरक्षित भएर तष्टस्थ रुपमा काम गर्न सक्ने वातावरणको श्रृजना गर्नका लागि बीमा कार्यक्रम प्रभावकारी बन्ने सञ्चार रजिष्ट्रार सापकोटाको विश्वास छ ।

पत्रकारले सुरक्षित महसुस गर्नसके मात्रै गुणस्तरीय समाचार लेख्न मद्दत पुग्छ, आगामी दिनमा सामाजिक सुरक्षामा लैजाने योजना पनि बनाइरहेका छौँ, सञ्चार रजिष्ट्रार सापकोटाले बताए । उनले सम्बन्धित पत्रकार, सञ्चार माध्यम र सरकारको सहभागितामा २५÷२५ र सरकारको तर्फबाट ५० प्रतिशत रकम व्यहोर्नेगरी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेगरी योजना बनाउँदै गरेको र पत्रकारको संस्थागत विकास र सुरक्षामा यस्ता कार्यक्रमले थप ऊर्जा थप्न मद्दत पुग्ने विश्वास लिए । बागमती प्रदेश सरकारले प्रदेश सञ्चारमाध्यम ऐन २०७५ बनाएपछि ऐनमार्फत प्रदेशमा रजिष्ट्रार नियुक्त गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*