हेटौंडामा थारु महिलाहरुले मनाए जितिया पर्व
हेटौंडा-हेटौंडामा थारु समुदायका महिलाहरुको जितिया पर्व पावनको शुभकामना आदनप्रदान कार्यक्रम भएको छ । थारु महिलासभा मकवानपुरले थारु कल्याणकारीसभा मकवानपुरसँगको समन्वयमा जितिया पर्व मनाएको हो ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष लिलाकुमार घलान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय प्रतिनिधि एवं मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै मेयर लामाले भाषा, संस्कृतिको संरक्षणमा आदिवासी जनजाति महिलाको महत्वपूर्ण रहेको भन्दै स्थानीय सरकार (हेटौंडा उपमहानगरपालिका) स्थानीय (हेटौंडेली) समुदायको संस्कार, संस्कृतिको संरक्षणमा गम्भीर रहेको भन्दै सहयोगको प्रतिवद्धता जनाएकी छन् ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष घलानले जितिया पर्व थारु महिलाको स्वास्थ्य र पारिवारिक दृष्टीले राम्रो भएको भन्दै थारुसहित आदिवासी, जनजातिको संस्कार, संस्कृति जगेर्ना गर्न स्थानीयसँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए । कार्यक्रम थारु महिलासभा मकवानपुरकी सभापति द्रौपतीदेवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा परम्परागत थारु भेषभुषामा सजिएर महिलाहरुले गीत, नृत्यसहित आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा थारु कल्याणकारीसभा मकवानपुरका निवर्तमान सभापति हरिलाल चौधरी, कोषाध्यक्ष उमा चौधरी, थारु विद्यार्थीसभाका केन्द्रीय सदस्य दिप्सन चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थारु कल्याणकारीसभा मकवानपुरका सभापति सचिदानन्द चौधरी, जिल्ला सल्लाहकार किशोरकुमार चौधरी, थारु विद्यार्थीसभा मकवानपुरका सभापति राजेशप्रसाद चौधरी लगायतको आतिथ्य रहेको थियो । जितिया पर्वको पहिलो दिन हेटौंडाको राप्तीखोलामा सामूहिक स्नान गरेका थारु महिलाले दोस्रो दिन जितिया भगवानको निराहार÷निर्जल व्रत बसेर जितमहान भगवानको कथा सुनेका थिए । साथै, तेस्रो दिन विधिपूर्वक सामूहिक पूजा गरेर पारायण गरेको थारु कल्याणकारीसभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिए ।
विशेषगरी थारु समुदायका विवाहित महिलाहरु आफ्नो सन्तान (छोराछोरी)को दीर्घायुको लागि व्रत बस्ने गर्दछन् । हेटौंडामा थारु समुदायको महान् पर्व माघी पर्व, सामाचकेवा, जितिया सामूहिक रुपमा मनाउँदै आएका छन् ।







