चाडपर्व लक्षित सुरक्षालाई मकवानपुरमा खटाईंदै ८ सय प्रहरी

साझाकुरा
२०८० आश्विन २२, सोमबार १०:५१

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्व लक्षित सुरक्षाका लागि आठ सय बढी प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, चोरी, डकैती, कुटपिटलगायतका घटना नियन्त्रण गर्न मकवानपु प्रहरीले विशेषसुरक्षा योजना बनाएको हो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ८ सय १७ जना प्रहरीलाई खटाउन लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरी जिल्लाका १० वटै स्थानीय तहमा खटिने छन् । जसमध्ये सबैभन्दा धेरै प्रहरी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिकामा खटिने छन् ।

प्रहरीउपरीक्षक सीताराम रिजालको कमाण्डमा जिल्लाभर १० जना, प्रहरी नायवउपरीक्षकको कमाण्डमा २० जना, प्रहरीनिरीक्षकको कमाण्डमा १५ जना, जुनियर प्रहरी अधिकृतको कमाण्डमा ६४ जना प्रहरीहरु खटिने रिजालले बताए । मकवानपुर प्रहरीप्रमुख एसपी रिजालले चाडपर्व लक्षित केही सुरक्षा योजनाहरु आइतबारबाटै कार्यान्वयन भइसकेको जानकारीदिए । मकवानपुर प्रहरीले चारवटा यात्रु सहायकता कक्ष स्थापना गरेको छ ।हेटौंडा–१४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको जनाएको छ । हेटौंडा–११ थानाभ¥याङमा चालक निगरानीको लागि अस्थायी
रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कुनैपनि यात्रु नठगिउन भन्ने उद्देश्यले सुमो काउन्टर क्षेत्रमाप्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेको जनाएको छ ।

साथै, आरक्षण सीटको स्टीकर मेटिएका सार्वजनिक यातायातमा स्टीकर टाँस्ने काम समेत सुरु गरिएको रिजालले बताए । चाडपर्वलक्षित सचेतनाका लागि तयार पारिएका जिंगलहरु बजार चोकमा मात्र नभई जिल्ला भरिका विद्यालयहरुमा बिहानको राष्ट्रगानपछि बजाएर विद्यार्र्थीलाई जानकारी गराउने व्यवस्था मिलाएको उनले बताए ।सुरक्षा नाका, अस्पतालका बिरामी रेफर, लामो दूरी सवारी जाँच, यात्रु सहायता कक्षजस्ता सुरक्षाकार्यमा प्रहरी खटाइएको उनले बताए । एसपी रिजालले चाडपर्वको समयमा यात्रुसँग बढी भाडा असुल गर्ने र विचौलियालाई कडाकारबाही गर्ने चेतावनी दिए ।

राज्यले तोकेकोभन्दा बढी भाडा लिने र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने बताएका हुन् । उनले रुट परमिटका कारण धेरै सवारी चाडपर्वको समयमा दुर्घटना हुनेगरेको जानकारीमा आएकाले त्यसलाई कसरी ‘कन्ट्रोल’ गर्ने भन्ने विषयमा योजना बनाइने बताए । ‘काठमाडौं र ललितपुरको प्रहरीसँग समन्वय गरेर हामी सवारी दुर्घटना न्यूनीकरण र बढी भाडा लिने प्रवृत्ति बन्द गर्नेछौं ।’, उनले भने ।
यसैगरी, प्रहरीले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि देशभर विशेष सुरक्षा योजना लागू गरेको थियो । विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार ५ सय ३० जना प्रहरीहरु खटाइएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएकोछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नैसुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारिएको हो । दसैं र तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*