बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालन
हेटौंडा- चाडपर्वलाई लक्षित गरेर आइतबार हेटौंडा–१०, स्थित बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामूदायिक प्रहरी सेवाउपकेन्द्र बसपार्कको आयोजनामा सहायता कक्ष उद्घाटन गरिएको हो ।मकवानपुर प्रहरी प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले सहायता कक्षको उद्घाटन गरेका हुन् । उनले जनताको शान्तिसुरक्षा र नागरिकको सहजताको लागि नागरिक कक्ष राखिएको बताए । चाडपर्वको बेला यात्रा गर्दा ठगिने हुदाँ बसपार्कमै सहायता कक्ष राखेको उनले बताए । पर्वको बेला घर छोडेर जादाँ चोरी डकैती हुने र आफू पनि चनाखो हुनुपर्ने तथा प्रहरीलाई पनि जानकारी गराउन उनले आग्रह गरेका छन् ।
नागरिक कक्ष नारायणी यातायात व्यवसायी संघ हेटौंडाले प्रायोजन गरेको हो । सोही अवसरमा यात्रुबाहक बसमा अशक्त सिट, महिला सिट र ज्येष्ठ नागरिक सिट लेखिएको स्टिकर टाँस गरिएको थियो । केन्द्रका अध्यक्ष प्रदीप कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का कार्यबहाक अध्यक्ष गोमा सुनार, नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष विष्णु विडारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, समाजसेवी इन्द्र नेपाल, सानु लामालगायत विभिन्न टोलविकास र स्थानीय क्लबका अध्यक्षहरुको सहभागिता रहेको थियो ।







