चार दशक अघिको सडक स्तरीकरण गर्दै कैलाश

साझाकुरा
२०८० आश्विन २३, मंगलवार ०९:१३

हेटौंडा- चार दशक अघिदेखि मोटर चल्ने सडक खन्न सुरु गरिएको थियो चुनियाँको पहरोबाट । त्यसयता यो सडक खण्डमा कनिका छरेझैं सालिन्दा बजेट हालिन्छ तर,स्तरीकरण गर्न पुग्दैन । पछिल्लो समय चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नतिका लागि कैलाश गाउँपालिकाले शिलान्यास गरेको छ ।

कैलाश गाउँपालिकाको प्रमुख पहुँचमार्गको रुपमा रहेको यो सडकको सोमबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमारमल्ल ठकुरीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।सो क्रममा गाउँपालिकाका अध्यक्ष मुक्तानले आफू जनप्रतिनिधिको रुपमा निर्वाचित भइसकेपछि अन्यकुराको सँगसँगै सडक स्तरोन्नतिका लागि निरन्तर संघ र प्रदेश सरकारसँग पहल गरेको बताउँदै यसको परिणामस्वरुप पछिल्लो समय बजेट विनियोजन भइरहेको जानकारी दिए।

उनले सडकमा बजेट विनियोजनका लागि प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको विशेष भूमिका रहेको उल्लेख गरे । उनले सडक स्तरोन्नतिसहित कालोपत्रेको काम पनि अघि बढाउने दृढता व्यक्तगरे । यस्तै, गाउँपालिकाका उपाध्यक्ष ठकुरीले सबैको साथ सहयोगबाट मात्रै स्थानीय क्षेत्रको विकास हुने बताए । साथै उनले सडक निर्माणका क्रममा निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह गरे ।कुमल्टारदेखि बनझाक्री खोल्चा (च्याखेटार) खण्डको साढे ७ किलोमिटर सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय चितवनबाट अमृता÷आकृति मालिका÷गोले जेभी हेटौंडा–१ ले ठेक्का लिएको छ । भ्याटसहित १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता भएको चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नतिको काम १८ महिनाभित्रै सम्पन्न गर्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रम कैलाश–१० का वडाध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएकोहो । कार्यक्रममा कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलान, निर्माण व्यवसायी सुनिल गोले, स्थानीय कमल अर्याल, कैलाशका प्रमुख प्रशासकीय अधिकृत विनोदरोकालगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*