अझै ५८ प्रतिशत बजार बीमाको पहुँच बाहिरै
हेटौंडा-चालु आर्थिक वर्षको भदौ महिनासम्म बीमा कम्पनीहरुको व्यवसाय वृद्धि भए पनि बीमाको दायरा भने खासै बढ्न सकेको छैन । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ५८ प्रतिशत जनसंख्यामा अझै बीमाको पहुँच पुग्न सकेको छैन । जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म २९ अर्ब १२ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड बढी प्रिमियम भित्राएका छन् । २८ बीमा कम्पनी र ४ लघुबीमा कम्पनीले ३६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी प्रिमियम भित्राउँदा बीमाको दायरा ४२ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । गत वर्षको भदौ महिनासम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४ प्रतिशत थियो । गत वर्षको तुलनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत २ प्रतिशतले घट्न पुगेको छ ।
तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय बढ्न सकिरहेको छैन । पुरानै व्यवसाय नवीकरणबाट जीवन बीमा कम्पनीहरुको व्यवसाय धानिरहेको तथ्यांकले देखाउँछ । भदौ मसान्तसम्म जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय १० प्रतिशतले घटेर ४ अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ । त्यस्तै, जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क आर्जन भने १६.८० प्रतिशतले वृद्धि भएको छ । भदौ मसान्तसम्म नवीकरणमार्फत जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७९ करोड रुपैयाँ प्रिमियम उठाएका छन् । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय उल्लेख्य बढ्न नसकेपनि पुरानै व्यवसाय नवीकरणबाट बीमाशुल्क आर्जन बढाइरहेका छन् । यसकारण पनि बीमाको दायरा नबढेपनि बीमा कम्पनीहरुको व्यापार वृद्धि भएको देखिएको हो ।
प्राधिकरणले बीमाको दायरा बढाउनका लागि विभिन्न खालका बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न सार्वजनिक कार्यक्रममा चालु आर्थिक वर्ष २०८०÷८१ मा बीमा दायराको जनसंख्या प्रतिशत बढाउनका लागिपरेको बताउँदै आएका छन् । प्राधिकरणको प्रदेशगत कार्यालयले विभिन्न क्षेत्रका स्थानीयसँग बीमा सचेतनासम्बन्धी कार्यक्रमसमेत गर्दै आइरहेको छ । तर, प्राधिकरणले अपेक्षा गरेअनुसारको बीमाको दायरा भने बढ्न सकिरहेको छैन ।
प्राधिकरणले जीवन बीमा कम्पनीलाई प्रदेशगत रुपमा ३ वटा क्षेत्रमा बीमा सचेतना तथा बीमा प्रवद्र्धन कार्यक्रमसमेत गर्न निर्देशन दिँदै आइरहेको छ । तर, बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशनलाई अटेर गर्दै एउटा प्रदेशमा मात्रै बीमा सचेतना कार्यक्रम गरी आलटाल गर्दै आइरहेको प्राधिकरणले जनाएको छ । गत वर्षको भदौ महिनामा ४४ प्रतिशत जनसंख्यामा रहेको बीमाको पहुँच यस वर्ष झनै घटेर ४२ प्रतिशतमा कायम हुन पुगेको छ । बीमाको दायरा घटे पनि बीमा कम्पनीहरुको व्यापार भने फस्टाएको देखिएको छ । भदौ महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । गत वर्षको भदौ महिनासम्म बीमा कम्पनीहरुले ३३ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको तुलनामा बीमा कम्पनीहरुको व्यापार ६.७५ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको भदौ महिनासम्म जीवन बीमा कम्पनीले मात्रै २९ अर्ब १३ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले मात्रै ७ अर्ब ८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यता जीवन तथा निर्जीवन दुवैतर्फको बीमालेखको संख्या भने घट्न पुगेको छ । गत वर्षको भदौ महिनासम्म १ करोड ४० लाख रहेको जीवन बीमालेखको संख्या यस अवधिसम्म ४.१८ प्रतिशतले घटेर १ करोड ३४ लाखमा कायम हुन पुगेको छ । त्यस्तै, ४ लाख ४५ हजार रहेको निर्जीवन बीमालेख संख्या ८.१५ प्रतिशतले घटेर ४ लाख ९ हजारमा सीमित हुन पुगेको छ ।
वैदेशिक रोजगार बीमालेख संख्या भने ५१.८४ प्रतिशतले बढेको छ । नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपालीका लागि वैदेशिक रोजगार बीमा अनिवार्य गरेकोले पनि यस्तो बीमालेखको संख्या बढेको हो । १–२ वटा कम्पनीले मात्रै बिक्री गर्दै आइरहेको वैदेशिक रोजगार बीमालेख हाल १० वटा जीवन बीमा कम्पनीले बिक्री गरिरहेका छन् । यसकारण पनि यो बीमालेखको संख्या गत वर्षको तुलनामा ५१ प्रतिशतले बढ्न पुगेको हो । गत वर्ष ११ लाख २२ हजार २९५ रहेको वैदेशिक रोजगार बीमालेख संख्या यस वर्ष बढेर १७ लाख ४ हजार ७३ पुगेको छ ।







