जिल्ला प्रशासनमा सर्वपक्षीय बैठक मकवानपुरमा चाडपर्वमा भाडा बढाए कारबाही, टाइम कार्ड लागू गरिने
हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बसेको सर्वपक्षीय बैठकले आउँदै गरेको चाडपर्व दशैं, दीपावली र छठ पर्वलाई व्यवस्थित गर्न विभिन्न निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यप्रसाद सेढाईंले चाडपर्वमा शान्तिसुरक्षा र नागरिकको सहज जीवनयापनमा निर्वाह गर्नुपर्ने सबै तहको भूमिकाबारे सहजीकरण गर्न सर्वपक्षीय बैठक डाकेका थिए । प्रमुख जिल्ला अधिकारी सेढाईं, प्रहरी प्रमुख सीताराम रिजाल, हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपाने, हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जन, जिल्लास्थित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, नारायणी यातायात व्यवसायी संघका निवर्तमान अध्यक्ष बद्री चौलागाईं लगायत सरोकारवालाको उपस्थितिमा चाडपर्व लक्षित विभिन्न योजनाहरुमा छलफल गरिएको हो ।
सर्वपक्षीय बैठकले जिल्लाभित्र निरन्तर सवारी सञ्चालन हुने सडकको स्तरीकरण, हेटौंडा बजार क्षेत्रभित्र व्यवस्थित पार्किङको व्यवस्थापन, गाडी भाडा, प्रहरीको सुरक्षाको विषयमा छलफल भएको हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी सेढाईंले बैठकलाई सम्बोधन गर्दै चाडपर्वको मौका छोपेर सवारी साधनको भाडावृद्धि गरेको पाइए कडा कारबाही गर्ने बताएका छन् । उनले चाडपर्वमा कुनै ढंगबाट पनि भाडा बढाउन नपाइने र नदिने बताएका हुन् ।
हेटौंडा–काठमाडौं आवतजावत गर्ने टाटासुमो, हेटौंडाबाट जिल्लाभित्र लामो दुरीको सवारीसाधनले चाडपर्वमा हरेक वर्ष भाडा बढाउने गरेका छन् । यात्रुहरुको ढाड सेक्ने गरी यातायात व्यवसायीले भाडावृद्धि गरेपनि विगतका चाडपर्वमा नियमनकारी निकायले प्रभावकारी कारबाही गर्न सकेका थिएनन् । चाडपर्वमा हेटौंडा–काठमाडौं आवतजावत गर्ने यात्रुहरु दैनिक ठगिने गरेको गुनासो धेरै छन् । यात्रुको चापअनुसार टाटासुमोको कृतिम अभाव गराएर पनि भाडावृद्धि गराउँदै आइरहेको घटना प्रशासन र प्रहरीलाई जानकारी भएपनि पर्याप्त प्रमाण नहुँदा कारबाहीमा समस्या थियो ।
बजारको मेनरोडमै टाटासुमो काउन्टरहरु रहेको सम्बन्धमा प्रशासनले ‘वनकल’ मा अन्यन्त्र स्थानमा व्यवस्थापन गर्ने तयारी गरेको छ । प्रशासनले हेटौंडा–चितवन सडक खण्डमा टाइमकार्ड लागूगर्ने भएको छ । चाडपर्वमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् हेटौंडा–चितवन खण्डमा धेरै दुर्घटना हुने गरेका छन् । सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न प्रशासनले टाइम कार्ड लागू गर्न लागेको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिए । प्रशासनले जिल्लास्थित गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सरोकारवाला निकायलाई सडक सरसफाई गरेर सवारीसाधन सञ्चालनमा सहजता ल्याउन निर्देशन नै दिएको छ ।
सीमाचोकदेखि बाइपाससम्मको मेनरोड क्षेत्रमा पार्किङ गरिराखेका सवारीसाधनलाई रानी दरबार अगाडिको खाली जग्गामा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ । चाडपर्वमा यात्रुहरुको चाप धेरै हुने भएकाले सडकमा अलपत्र यात्रुको अस्थायी व्यवस्थापन गर्न खर्चको जोहो मिलाउन स्थानीय तहलाई बैठकले अनुरोध गरेको छ । निर्माणाधीन भैंसे–भीमफेदी खण्डमा पुलहरु निर्माण भइरहेकाले चाडपर्व पछि मात्रै सुरु गर्न बैठकले सुझाव दिएको छ । जिल्लाभित्र विभिन्न सडकहरु मर्मत भइरहेकाले सम्भावित विपदजन्य अवस्थाको मध्यनजर गर्दै उद्दार सामग्री र हेभी इक्युपमेन्टहरु स्ट्याण्डबाई राख्ने निर्णय सर्वपक्षीय बैठकले गरेको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिए ।
‘चाडपर्वमा शान्ति सुरक्षालाई मजबुद बनाउँछौं’
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले चाडपर्वमा शान्तिसुरक्षालाई मजबुद बनाउने कार्य अगाडि बढेको बताएका छन् ।चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको र चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, चोरी, डकैती, कुटपिट लगायतका घटना नियन्त्रण गर्न मकवानपु प्रहरीले विशेषसुरक्षा योजना बनाएको रिजालले बैठकमा जानकारी गराएका छन् । सुरक्षा व्यवस्थापनका लागि जिल्लाका १० वटै स्थानीय तहमा प्रहरी खटिने छन् । जसमध्ये सबैभन्दा धेरै प्रहरी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिकामा खटिने छन् ।
एसपी रिजालको कमाण्डमा जिल्लाभर १० जना, प्रहरी नायव उपरीक्षकको कमाण्डमा २० जना, प्रहरीनिरीक्षकको कमाण्डमा १५ जना, जुनियर प्रहरी अधिकृतको कमाण्डमा ६४ जना प्रहरीहरु खटिने रिजालले बताए । मकवानपुर प्रहरी प्रमुख एसपी रिजालले चाडपर्व लक्षित केही सुरक्षा योजनाहरु आइतबारबाटै कार्यान्वयन भइसकेको जानकारी दिए । मकवानपुर प्रहरीले चारवटा यात्रु सहायकता कक्ष स्थापना गरेको छ । हेटौंडा–१४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको जनाएको छ । हेटौंडा–११ थानाभ¥याङमा चालक निगरानीको लागि अस्थायी
रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ ।
सुरक्षा नाका, अस्पतालका बिरामी रेफर, लामो दूरी सवारी जाँच, यात्रु सहायता कक्षजस्तासुरक्षाकार्यमा प्रहरी खटाइएको एपसी रिजालले बताए । एसपी रिजालले चाडपर्वको समयमा यात्रुसँग बढी भाडा असुल गर्ने र विचौलियालाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाए । राज्यले तोकेकोभन्दा बढी भाडा लिने र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने उनले बताएका हुन् । उनले रुट परमिटका कारण धेरै सवारी चाडपर्वको समयमा दुर्घटना हुनेगरेको जानकारीमा आएकाले त्यसलाई कसरी ‘कन्ट्रोल’ गर्ने ? भन्ने विषयमा योजना बनाइने बताए ।







