रातोमाटेबाट ७० किलो गाँजासहित २ जना पक्राउ

साझाकुरा
२०८० आश्विन २५, बिहीबार १०:२०

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट मंगलबार राति २ जनालाई नियन्त्रणमा लिएको हो ।प्रहरीले नियन्त्रणमा लिएकाहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्र्षीय युबराज प्रजा रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडा–१५ रातोमाटेबाट नियन्त्रणमा लिइएको प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार मंगलबार राति ११ बजेको समयमा हेटौंडाबाट बीरगंजतर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्वरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको मोवाइल मार्फत हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप गाडीमा लागूऔषध गाँजा आउँदै गरेको जानकारी प्राप्त भएको थियो ।सूचना प्राप्त हुनासाथ पिकअपलाई चेकजाँचको लागिरोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडकखण्डतर्फ भाग्ने क्रममा बिक्रमचोक नजिक पिकअप गाडी छाडी चालक फरार भएका थिए । गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिनमुनी ११ वटा पोकामा लागूऔषध गाँजा करिव ७० किलो बरामद भएको प्रहरी नायवउपरीक्षक भण्डारीले बताए ।

बरामद गाँजा, पिकअप गाडी, मोटरसाइकल र प्रजा दुबै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । फरार रहेका पिकअप गाडी चालकको खोजीकार्य जारी राखेको समेत बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*