मानसिक रोगीको उपचारलाई अस्पतालमा २५ शैयाको मनोचिकित्सा वार्ड
हेटौंडा- हेटौंडा अस्पतालमा मानसिक रोगबाट प्रभावितको उपचारका लागि मनोचिकत्सा वार्ड सञ्चालनमा ल्याइएको छ । वार्डको बिहीवार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उद्घाटन गरेका छन् ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी २५ बेडको मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याएको छ । वार्ड उद्घाटन गर्दै मन्त्री जोशीले हेटौंडा अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिने प्रतिबद्धता जनाए ।
‘मानसिक स्वास्थ्यका कारण आत्महत्या बढेकाले यसको न्यूनीकरणका लागि उपचारसेवा थप गर्नुपरेको उनको भनाई छ । प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप गरिएको र अन्य सेवा पनि थप गर्ने योजनामा अस्पताल प्रशासन रहेको जानकारी दिए । मनोचिकित्सा वार्ड संचालनमा आएपछि महगो मूल्यमा निजी स्वास्थ्य संस्थामा उपचार गर्नुपर्ने समस्या हट्ने बताइएको छ ।
प्रतिष्ठानका रजिष्टारराजेश प्रसाईले यसअघि ओपीडीबाटै मानसिक समस्या भएका बिरामी उपचार गरिदै आएकोमा वार्ड संचालन पछि उपचार गर्न सहज हुने बताए । अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै २५ शैया क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएसँगै मकवानपुरसँगै आसपासका बिरामीलाई सहज हुने भएको छ । गत असारबाट हेटौंडा अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपीडी मार्फत सेवाप्रवाह गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।हाल सेवा विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालन सुरु भएको हो ।
वार्ड सञ्चालनका लागि एकजना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एकजना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताए । प्रतिष्ठानमा हाल पढाइ भइरहेको विषयका साथै चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञको लागि शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ।
आगामी आर्थिक वर्षदेखि हेटौंडा अस्पतालमा ३ जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रुपमा मनोचिकित्सा सेवाप्रवाह गर्ने योजना रहेको प्रसाइ बताउँछन् । प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानवसेवा आश्रममा ३० शैया क्षमताको मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र स्थापनाको तयारी समेत भइरहेको छ । अस्पतालले मानसिक स्वास्थ्य उपचारका लागि २ बजेदेखि ५ बजेसम्म विस्तारित ओपीडी सेवा संचालन गर्ने जनाएको छ ।







