विकट कैलाशमा बर्थिङ सेन्टर सञ्चालनमा
हेटौंडा- मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकामा कुनैबेला सामान्य उपचार गर्न सम्भवन पनि थिएन । भौगोलिक विकटताले विकासमा आधारभूत संरचनासमेत निर्माण नहुँदा गाउँबासीलाई सहज उपचारमा सकस थियो ।विद्युतसमेत नपुगेका कारण भिडियो एक्सरेसमेत नहुने विगतको कैलाशमा हाल उपचार सेवाले निरन्तर वृद्धि पाइराखेको छ । हाल कैलाश गाउँपालिकाले गाउँमै भिडियो एक्सरेसहितको उपचारसेवा प्रदान गर्न बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । गाउँमै विशेषज्ञ डाक्टरसहित आधुनिक उपकरण उपलब्ध भएपछि सुत्केरी हुनका लागि अब चारघण्टाको कष्टकर यात्रा तय गर्नुपर्ने समस्या हटेको हो । भौगोलिक रुपमा विकट रहेको मकवानपुरको कैलाश गाउँपालिकाले भिडियो एक्सरेसहित बर्थिङ सेन्टर सेवा सञ्चालनमा ल्याएसँगै सुरक्षितरुपमा सुत्केरी हुनका लागि हेटौंडा वा मनहरी जानुपर्ने बाध्यता हटेको हो ।
गाउँपालिकाले तामलाङ स्थित ७ नम्बर वडामा रहेको ङिको स्वास्थ्यचौकीमा यो सेवा सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरबाट नियमित गर्भपरीक्षण, पोषणको अवस्था तथा सुरक्षितरुपमा सुत्केरी हुने व्यवस्था मिलेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा बर्थिङ सेन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याएका छन् । उनले उपकरण र विशेषज्ञ डाक्टरको अभावमा सुत्केरी हुने समयमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर बर्थिङ सेन्टर स्थापना गरिएको बताए ।
उनका अनुसार पालिकाको वार्षिक नीति तथा योजनामै समेटेर ‘गर्भवतीसँग पालिका प्रमुख’ कार्यक्रमअन्तर्गत सेवा सञ्चालनमा आएको हो । यसअघि यहाँका गर्भवती सुत्केरी हुनका लागि हेटौंडा वा मनहरी गाउँपालिका जाने गरेका थिए । भौगोलिक रुपमा विकट र बाटो नहुँदा उनीहरु समस्यामा पर्दै आएको थियो । यस पालिकामा अति सीमान्तकृत चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको छ । आर्थिक अभावमा उनीहरुले नियमित गर्भ परीक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञ डाक्टर र भिडियो एक्सरेसहित सेवा सुरु गरिएको वडाध्यक्ष उदास भ्लोनले जानकारी दिए ।
उनका अनुसार एकैदिन ४० जनासम्म गर्भवतीले स्वास्थ्य परीक्षण गरेका छन् । डा. बिदुर भण्डारीको टोलीले गर्भवती महिलाले गर्भावस्था परीक्षण गरिरहेका छन् । पालिकाका सबै गर्भवती महिलाले सुरक्षितरुपमा गर्भावस्था जाँच सेवा प्रदान गर्ने गरी हेटौंडा अस्पतालका डा. भण्डारीसँगको सहकार्यमा महिनाको दुईपटक गाउँपालिकामा सेवा दिने गरी तालिका निर्माण गरिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकाको २, ३, ५, ८ र ९ नम्बर वडामा यसअघि नै वर्थिङ सेन्टर सञ्चालनमा रहेको जानकारी दिए ।







