चित्लाङ स्वास्थ्यचौकीको भवन बनाउन जुटे विदेशीदाता

साझाकुरा
२०८० आश्विन २६, शुक्रबार ११:०८

हेटौंडा मकवानपुरको थाहा नगरपालिका र च्वाइस नेपालको संयुक्त लगानीमा निर्माण हुँदै गरेको चित्लाङ स्वास्थ्यचौकी भवनको निर्माण कार्यमा विदेशीदाता श्रमदानमा जुटेका छन् ।करिव चार महिना अगाडि शिलान्यास गरिएको १४ कोठे स्वास्थ्यचौकी भवनको निर्माणकार्य अनुगमन सहितको श्रमदान गर्नका लागि डोटरा हिलिङ हेन्ड फाउन्डेसन अन्तरगत चिन र अमेरिकाका ५४ जना दाताहरु बुधबार स्वास्थ्यचौकी भवन निर्माणस्थल चित्लाङ आईपुगेको र उनीहरु पनि श्रमदानमा जुटेको च्वाइस नेपालका प्रतिनिधि प्रताप घिमिरेले बताए ।

दाताहरुलाई थाहा नगरपालिका–९ का अध्यक्ष राजकुमार बलामी, स्वास्थ्यचौकी निर्माण समितिका अध्यक्ष राजिव नापित र स्थानीयले स्वागत गरेका थिए । दाताहरुको बसाई तीन दिनको हुने र तीनदिनमा स्वास्थ्यचौकी भवन निर्माणको अनुगमनका साथै निर्माणकार्यमा श्रमदान गर्ने, स्थानीय किशोरी लक्षित कार्यक्रम गर्ने, चित्लाङमा रहेका ५ वटा विद्यालयमा अध्ययन गर्ने २० जना विद्यार्र्थीलाई छात्रबृति प्रदान गर्ने कार्यक्रम रहेको च्वाइस नेपालका घिमिरेले बताए ।

दुई करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने चित्लाङ स्वास्थ्यचौकी भवनको लागि च्वाइस नेपालले एककरोड ५० लाख लगानी गरेको घिमिरेले बताए । उनले निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्ने समेत बताए । हाल स्वास्थ्यचौकी भवनको निर्माणकार्य करिव ५५ प्रतिशत सम्पन्न भएको छ । तीन बर्षमा सम्पन्न गर्नेगरी निर्माण थालनी गरेको स्वास्थ्यचौकी भवनको लागि थाहा नगरपालिकाले ५९ लाख ४७० रुपैयाँ लगानी गर्नेछ ।पहिलो बर्षमा स्वास्थ्यचौकी भवन निर्माण गरिने, दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइने र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीको क्षमता विकास गरी दक्ष बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गरिने च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*