सामाजिक विकृति र अपराध नियन्त्रणसम्बन्धी अन्तरक्रिया
हेटौंडा- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गरी लागुपदार्थ र मादक पदार्थको प्रयोग, आत्महत्या, साइबर अपराध, सामाजिक विकृति विसंगतिको विषयमा बिहीवार अन्तरक्रिया गरिएको छ ।कार्यक्रमका संयोजक लिलाराज बञ्जाराको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामास्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल, वडा नम्बर ५ का अध्यक्ष दिपेश दाहाल, वडा नम्बर ६ का अध्यक्ष कृष्णप्रसाद बजगाईको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक रिजालले लागूपदार्थ र मादकपदार्थको प्रयोग, आत्महत्या, साइबर अपराध, सामाजिक विकृति विसंगतिको विषयमा कानुनी विषयलाई समेट्दै आफ्ना भनाई राखेका थिए ।
कार्यक्रमलाई गाउँपालिकाका न्यायिक समितिका अधिवक्ता रामशरण लामिछानेले सामाजिक अपराध र विकृतिका विषयमा हुनसक्ने सजाय र त्यस्ता कार्य गर्न नहुने खालका नियमहरु प्रस्तुत
गरेका थिए ।कार्यक्रममा गाउँपालिका अध्यक्ष स्याङ्तानले चाडपर्व लक्षित गरी यो कार्यक्रम गरिएको प्रति धन्यवाद दिँदै लागुपदार्थ र मादकपदार्थको प्रयोग गर्नेलाई र विक्री वितरण गर्नेलाई समेत कानुनी दायरामा ल्याइने बताए । उनले साइवर अपराध, सामाजिक विकृति विसंगति हाम्रो समाजमा बढिरहेकाले यसलाई नियन्त्रण गर्न टोल विकास अन्तरगत पालिकाले कामहरु गरिने बताए ।







