हेटौंडा उपमहानगरको वार्षिक समीक्षा

साझाकुरा
२०८० आश्विन २७, शनिबार १२:३९

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को बार्षिक समीक्षा सम्पन्न भएको छ । उपमहानगर क्षेत्र महाशाखाहरुले गरेको कामको बारेमा समीक्षा बैठकमा प्रस्तुत भएको थियो ।
आर्थिक बर्ष २०७९÷८० मा सामान्य प्रशासनबाट भएका कामको बारेमा महाशाखा प्रमुख शान्ति बिश्वकर्मा, आर्थिक विकासबाट भएको कामको महाशाखा प्रमुख राजेश्वरी शाही, शहरी पूर्वाधार बिकासबाट भएको कामको सुबोध थापा, सामाजिक विकासबाट भएका कामको महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, शिक्षा विकासबाट भएका कामको महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, महिला तथा बालबालिकाबाट भएको कामको महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने प्रस्तुतिकरण गरेका थिए ।

समीक्षा बैठकमा भएका उपमहानगरबाट भएका कार्यहरुको सवल, सुधार गर्नुपर्ने काम, चुनौंति र अपनाउनु पर्ने रणनीतिको बारेमा छलफल गरिएको थियो । छलफलमा उपमहानगरका कामलाई थप प्रभावकारी बनाउँनका लागि सबैको सहकार्य आवश्यक रहेको बताइएको थियो । नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरको विकासका लागि एकअर्काको सहयोग आवश्यक रहेको बताइन् । सेवाप्रवाहलाई चुस्त बनाउँदै वडातहबाट हुन सक्ने सेवा प्रवाहलाई नगरसम्म ल्याउने काम रोक्न निर्देशन दिइन् । समस्या र चुनौंतिलाई समाधान गर्नका लागि महाशा प्रमुखहरुलाई शुक्ष्म अध्ययन गरी आगामी मासिक बैठकमा प्रतिवेदन सहित उपस्थित हुन निर्देशन दिइन् ।

उपमहानगरले आर्थिक बर्ष २०७९÷८० मा ३ अर्व ३० करोड ९ लाख ५५ हजार बजेटमध्ये चालुतर्फ १ अर्व ४० करोड ३९ लाख ८४ हजार ३४५, पुजिँगततर्फ १ अर्व ६ करोड १३ लाख ३२ हजार ६७० रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ८५ लाख ६५ हजार ७० रुपैयाँ गरी जम्मा २ अर्व ४७ करोड ७८ लाख ८२ हजार ८५ रुपैयाँ खर्च गरेको थियो । बार्षिक समीक्षा कार्यक्रममा उपमहानगरका बिभिन्न वडाका अध्यक्ष, नगर कार्यपालिकका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाई सहितको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*