दिव्यताराको कारोबार कारोबार १९ अर्ब बढी
हेटौंडा- मकवानपुरकै सबैभन्दा ठूलो सहकारीको रुपमा परिचय बनाएको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शुक्रबार २५ औं वार्षिक साधारणसभा भएको छ ।हेटौंडा–२, स्थित पल्पसारोडमा मुख्य कार्यालय रहेको दिव्यताराको जिल्लाभर मुख्य कार्यालयसहित ११ वटा सेवा केन्द्रमा शेयर सदस्य मात्रै १० हजार ७ सय ९७ छन् । संस्थाका अध्यक्ष डा. गणेशबहादुर बल लामाको सभाध्यक्षता तथा बागमती प्रदेशकी सांसद लक्ष्मी देवी श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार दिव्यताराको कारोबार मात्रै १९ अर्ब बढी रहेको उल्लेख छ । संस्थाको कुल सम्पत्ति १ सय २७ करोड रहेको छ ।
गत आर्थिक वर्ष २०७९÷८० मा सहकारीको शेयर पुँजी १२ करोड ६३ लाख ३६ हजार २ सय र बचत तथा निक्षेप ६१ करोड ६२ लाख ८८ हजार २ सय १९ रुपैयाँ रहेको जनाइएको छ । सहकारीबाट गत आवसम्म २ हजार १ सय २८ जनामा ऋण लगानी भएको उल्लेख छ । दिव्यताराले १ अर्ब १२ करोड ३३ लाख ५४ हजार १ सय ३२ रुपैयाँ ऋण लगानी गरेको अध्यक्ष लामाले जानकारी दिए ।
प्रदेश सांसद लक्ष्मी श्रेष्ठको विशेष आतिथ्यता रहेको साधारणसभामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष एबम् हेटौंडा उपमहानगरका प्रबक्ता सबिन न्यौपाने, वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर जिल्ला बहुद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक रामेश्वर अर्याल, भरतपुर महानगरपालिकाको निवर्तमान उपमेयर पार्वती शाह, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेल र युवा बचत तथा ऋण सहकारी संस्था संस्थाका अध्यक्ष राजु गौतमलगायतको आतिथ्यता थियो । दिव्यतारा सहकारीले सामुदायिक रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्ज, दिव्यतारा खाद्य तथा तेल राइस मिल र दिव्य सहकारी उपभोक्ता पसल संचालन गरेको छ ।







