हेटौंडास्थित पत्रकार महासंघ प्रदेश कार्यालयमा ताला
हेटौंडा-हेटौंडा–११ थानाभ¥याङस्थित नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयमा शनिवार तालाबन्दी गरिएको छ ।राजनीतिक आस्था राखी गैह्रपत्रकारलाई नयाँ सदस्यता दिलाउन लागि केन्द्रीय समितिमा सिफारिस गरेको, पत्रकारितामै क्रियाशील पत्रकारलाई राजनीतिक प्रतिशोधले सदस्यता काट्ने रणनीतिले सिफारिस गरेकोलगायतका कारण देखाएर शनिवार प्रदेश समिति कार्यालयमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले तालाबन्दी गरेको हो । प्रेस चैतारी प्रदेश समितिले राजनीतिक आस्थाकै आधारमा आफ्ना नजिककालाई मात्रै सदस्यता दिलाउन सिफारिस गरेको, महासंघ जिल्ला शाखाले अनुगमन र अनुसन्धान गरेर प्रदेशमा सिफारिस गरेका नामावलीमा मनोमानी ढंगले हेरफेर गरेको आरोप नेतृत्वलाई लगाएको छ ।
सदस्यता शुद्धीकरण मापदण्डको १५ बुँदाको पूर्णपालना नभएसम्म तालबन्दी जारी रहने चौतारी प्रदेश कमिटीका कार्यवाहक उपाध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । पत्रकार महासंघ केन्द्रीय समितिले शुक्रबार सार्वजनिक गरेको प्रदेश समितिको प्रस्तावित सदस्यता सिफारिस सूचीप्रति प्रेस चौतारीले विरोध जनाउँदै तालाबन्दी गरेको हो । सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी बागमती प्रदेश कमिटीका महासचिव प्रकाश दाहालले जानकारी दिए ।
प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य हरि हुमागाईं, बागमती प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा महासंघको कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको हो । प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशील पत्रकारलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय रहेको रहेको भन्दै प्रदेश समितिको यो कार्य सच्याउन माग गरिएको छ । महासंघमा नेतृत्वमा रहनेहरु र पदाधिकारीले आफ्नो संगठन निकट निष्क्रिय पत्रकारको सदस्यता नवीकरण गर्ने र प्रेस चौतारीमा आस्था राख्ने क्रियाशील पत्रकारको सदस्यता नवीकरण नगर्ने गरी विभेदकारी ढंगबाट सदस्यता शुद्धीकरण भन्दै नामावली सिफारिस गरिएको उनले बताए ।
महासंघ प्रदेश समितिले सदस्यताको विषय टुंग्याउनु अघि विभिन्न संगठनसँग बसेर गरेको सहमति लत्याएको चौतारीले जनाएको छ । कार्यवाहक अध्यक्ष खतिवडाले प्रेस चौतारीसँगको सहमतिको प्रयासको प्रपञ्च रचेर आफू अनुकुल निर्णय कार्यान्वयन गराउन महासंघ प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति घोर आपत्ति प्रकट गरे । जिल्लाबाट सर्वसम्मत सहमति भई सदस्यता नवीकरण गर्न सिफारिस गरिएका पत्रकारको नामावली काटेर नभएकाहरुको नाम प्रदेश समितिबाट थप्ने कार्य भएको उनले बताए ।
केन्द्रीय समितिबाट जारी भएको मापदण्डलाई बेवास्ता गरेर प्रदेश समितिले मनोगत रुपमा गरेको सिफारिस कार्यान्वयन नगर्न उनले ध्यानाकर्षण गराएका छन् । चौतारीको सदस्य भएकै कारण क्रियाशील पत्रकारलाई नयाँ सदस्यता नदिने र सदस्यता नवीकरण नगर्ने महासंघ प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा सदस्यताका लागि सिफारिस गरेको उनको भनाई छ । महासंघ प्रदेश समितिले खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्क्रिय पत्रकारहरुको नवीकरण गर्ने कार्यप्रति प्रेस चौतारीलाई स्वीकार्य नहुने उनले बताए ।







