७५ वर्षीय महावीरले पाए दृष्टि
हेटौंडा- थाहा नगरपालिका–५ फुर्केका ७५ वर्षे महावीर गोलेले ३ वर्षपछि आफ्नो दृष्टि पाएका छन् । राम्ररी हिड्न नसक्ने महावीर दुई जना भतिजको साथमा फुर्केमा आयोजित निःशुल्क शिविरमा आँखा जाँच गर्न पुगेका थिए ।उनको जाँचको क्रममा आँखामा मोतिविन्दु देखिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनील थकालीले बताए । भिजन हिमालय फाण्डेशनको सहयोगमा तिलगंगा सामुदायिक आँखाकेन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा शल्यक्रियापश्चात महावीरले दृष्टि पाउन सफल भएको डाक्टर थकालीले बताएका छन् । महावीरको शल्यक्रियापछि थाहा नगरका प्रमुख विष्णुबहादुर विष्टले पट्टि खोलिदिएका थिए । सफल उपाचारपछि खुसीहुँदै महावीरले उपचारबाट दृष्टि पाएकोमा आयोजकलाई धन्यवाद दिए ।
थाहा नगरपालिका अन्तरगतका फुर्के, मोरिया, गोगने, देउखेल, नौखण्डे, टौखेल, बज्रबाराही लगायतका स्थानमा आयोजना गरिएको दुई दिने निःशुल्क आँखा शिविरमा पाँच सय बिरामीको आँखा जाँच गरी ७३ जनाको मोतिविन्दु भेटिएको र उपचार गरिएको डा. थकालीले जानकारी दिए । कार्यक्रममा बोल्दै थाहानगरका नगरप्रमुख विष्टले ग्रामीण भेगमा आएर निःशुल्क आँखा शिविर संचालन गरी गुमाएको दृष्टि फर्काउन सफल भएकोमा आयोजक प्रति धन्यवाद दिए । थाहानगरको सहकार्यमा अझै धेरै स्थानमा निःशुल्क आँखा शिविर संचालन गर्न सहयोग गर्ने मेयर विष्टको भनाई छ ।







