कमल थापाले भने, ‘प्रदेश संरचना खारेज गरौं’

साझाकुरा
२०८० आश्विन २८, आईतवार ०९:५४

हेटौंडा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउप प्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् ।संघीयताअन्तर्गत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो । पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनी प्रश्न गरे । ‘यो बीचको प्रदेश संरचना आवश्यक छैन । यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ । नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ । कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने ?’, थापाले भने ।

‘नेपाल जस्तो सानो देशमा किन सयभन्दा बढी मन्त्रीहरु चाहिन्छ भन्नु त ? अहिले हरेक प्रदेशमा १०÷१२ जना मन्त्रीहरु छन् । किन झन्डै सय जना मन्त्रीहरु चाहियो ? हाम्रो जस्तो सानो देशमा ५÷७ सयको संख्यामा किन सांसदहरु चाहियो भन्नुस् ? चाहिँदैन । त्यसकारण अर्बौ रुपैयाँ खर्च गरेर ती सांसद र मन्त्रीहरुलाई पालेर राख्नुपर्ने जरुरी छैन । त्यसर्थ, दुई तहको सरकार बनाऔं भन्ने हाम्रो धारणा हो ।’,अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र बर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिर गरे ।

‘म फेरि पनि यो आमसभाको माध्यमबाट कांग्रेस, एमाले र माओवादीका नेताहरुलाई भन्न चाहन्छु–हामीले कुनै अतिवादी कुरा गरेका छैनौं । कुनै प्रतिगामी कुरा गरेका छैनौं । हामीले सबै नेपाली अटाउने व्यवस्था बनाऔं भनेको हो । के त्यो अपराध हो ? सनातन धर्म, संस्कृतिको संरक्षण गरौं भन्नु अपराध हो ? तसर्थ, वर्तमान भ्रष्ट व्यवस्थामा सुधारका निमित्त तयार हुन म सबै राजनीतिक
दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु । तर, तपाईंहरु अब चुप लागेर बस्नुभयो भने अब नेपाली जनता चुप लागेर बस्दैन ।’,थापाले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*